PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

स्थानीय निकाय पुनर्संरचना खाका राजनीतिक दलको एकलौटी भएको भन्दै चितवनमा विरोध



पहिलोपोस्ट

स्थानीय निकाय पुनर्संरचना खाका राजनीतिक दलको एकलौटी भएको भन्दै चितवनमा विरोध

  • सरिता पौडेल
चितवन : स्थानीय निकायको पुनर्संरचनामा जिल्लाका राजनीतिक दलहरुले गरेको प्रस्तावको चितवनमा तीव्र विरोध भएको छ।
 
पश्चिम चितवनको चित्रवन र नारायणी नगरपालिकाका बासिन्दाहरुले राजनीतिक दलको प्रस्तावप्रति असहमति जनाउँदै जिल्ला विकास समितिको कार्यालयमा नाराबाजी समेत गरेका छन्। आफूहरुसँग छलफल नगरी जिल्लाका नेताहरुले भरतपुर उपमहानगरपालिकामा गाभेर महानगरपालिका बनाउने प्रस्ताव गरेकोमा उनीहरु असन्तुष्ट बनेका छन्।
 
पश्चिम चितवनको विकट क्षेत्रसँग भरतपुरलाई तुलना गर्न नमिल्ने उनीहरुको माग छ। सम्बन्धित क्षेत्रका नागरिकको सहमतिविपरीत दलले गरेको निर्णय नमान्ने र यसका लागि केन्द्रसम्म जाने चित्रवनन गरपालिकाका प्रतिनिधि विष्णु ढकालले बताए।
 
दुई नगरपालिकाको सर्वपक्षीय संयुक्त संघर्ष समितिले विरोधपत्र समेत बुझाएका छन्। नेपाली कांग्रेस नारायणी नगरपालिकाका सभापति टिकाराम भट्टराईले आफूहरुसँग छलफल नगरी प्रस्ताव गरेको बताए।
 
स्थानीय तह निर्धारण गर्दा चितवनको चेपाङ बाहुल क्षेत्रलाई अन्य नगरपालिकामा मिसाउने कार्यको नेपाल चेपाङ संघले पनि विरोध जनाएको छ। चेपाङ बहुल जिल्लाको पहाडी गाविसहरुलाई समेटेर ‘झोरालाङ’ गाउँपालिका बनाउनुपर्ने आफ्नो मागलाई बेवास्ता गरेर नगरपालिकामा गाभेको भन्दै संघले सोविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
 
जिल्ला विकास समितिमा शुक्रबार भएको सर्वदलीय सहमतिअनुसार १ महानगरपालिका सहित ६ नगरपालिका रहने गरी आयोगमा सिफारिस पठाएको छ। सिफारिस लागू भएमा चितवन गाउँपालिका रहित जिल्ला हुनेछ।
 
चितवनका दलहरुले जिल्लामा सात वटा स्थानीय तह रहने सहमति गरेका छन्। जसमा एउटा महानगरपालिका र अरु नगरपालिका रहने उल्लेख छ। दलहरुको सोही सहमतिलाई जिल्ला प्राविधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचना आयोगमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell