
हिलारी क्लिन्टनलाई एफबिआईले क्लिन चिट दिएपछि ग्लोबल स्टक मार्केटले निकै राहत महसुस गरेको छ। बजारले हिलारीको जितलाई सकारात्मक मानिरहेको छ। तैपनि अर्का उमेदवार डोनाल्ड ट्रम्प पनि हिलारीको नजिक नजिक रहेकाले लगानीकर्ताहरु सचेत देखिइरहेका छन्।
अमेरिकी बजारको इतिहास हेर्ने हो भने डेमोक्रयाट्सबाट राष्ट्रपति आएको समय बजारले राम्रो पर्फमेन्स गर्ने गरेको छ। त्यस बेला बजारले ७ प्रतिशतको प्रतिफल दिने गरेको छ। रिपब्लिकन आउँदा ३ प्रतिशतले मात्र बजार बढेको इतिहास छ।
बजार विज्ञहरुका अनुसार हिलारीको जित शेयर बजारका लागि सकारात्मक हुनुको कारण ट्रम्पको तुलनामा हिलारीको नीति शेयर बजारका लागि अनुकूल छ।
सन्सारभरका बजार विज्ञहरुको धारणा छ- ग्लोबल मार्केट सुरुदेखि नै हिलारीको पक्षमा छ। त्यही भएर उनी जित्ने जस्तो अवस्था स्पष्ट हुँदा सधैं बजार उकालो लागेको छ। त्यसैले हिलारीले जितिन् भने सन्सारभरका शेयर बजार उकालो लाग्नेछन्। तर उकालो भने बेलगाम हुँदैन। निश्चित बिन्दुमा पुगेर बजार रोकिन्छ। अर्थात् बजार सीमित रुपमा मात्र बढ्छ।
हिलारीको जितले वित्तीय क्षेत्र र औषधि उद्योगहरुलाई भने दबाबमा राख्नेछ। हिलारीले औषधिको मूल्यमा निकै कडा नीति लिने बताइरहेका बेला ती कम्पनीको शेयर मूल्य ओरालो लाग्नेछन्।
२०१५ मा हिलारीले औषधि उद्योगले मूल्य बढाएकोप्रति कडा टिप्पणी गरेकी थिइन्। उनको धारण आएपछि बायोटेक सेक्टरमा आधारित इटिएफ एक सातामा ३० प्रतिशतले झरेको छ। जबकि हिलारीलाई चुनाव क्याम्पेन गर्न सबैभन्दा बढी चन्दा फर्मा सेक्टरबाट आएको थियो। उनले ६ लाख डलर चन्दा यो सेक्टरबाट पाएकी थिइन्।
ट्रप्पको पक्षमा बजार देखिएको छैन। विज्ञहरुको भनाइ मान्ने हो भने ट्रम्पले जितेमा शेयर बजार क्र्यासको अवस्थामा पुग्छ। ट्रम्पको नीतिहरु अमेरिकी पूर्वाधार क्षेत्रमा भने सकारात्मक देखिएको छ।