PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

संविधान कार्यान्वयनका लागि ५ नम्बर प्रदेशमा एमालेको चार महिने जनपरिचालन अभियान



पहिलोपोस्ट

संविधान कार्यान्वयनका लागि ५ नम्बर प्रदेशमा एमालेको चार महिने जनपरिचालन अभियान

बुटवल : नेकपा (एमाले) ५ नम्बर प्रदेश कमिटीले संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ।
 
अभियान अन्तर्गत जनतालाई संविधानका बारेमा बुझाउन पार्टीका प्रत्येक कमिटीका सदस्य जनस्तरमा परिचालन गरिने लगायत संविधान कार्यान्वयन जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारिएको छ।
 
यसका लागि एमालेले ५ नं प्रदेशका १२ जिल्लामा कार्यकर्ता परिचालन गरी घरदैलो, संविधानमा जनताका अधिकारका बारेमा भएका व्यवस्थासहितका पर्चा प्रकाशन गरी वितरण गर्ने, जनताका माझ पुगेर संविधाका बारेमा अन्तरक्रिया, गोष्ठी र जनसभा आयोजना गर्नेसम्मका कार्ययोजना दुई दिनसम्म बुटवलमा बसेको प्रादेशिक कमिटीले तय गरेको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए।
 
संविधान कार्यान्वयन जनपरिचालन कार्ययोजना कार्यक्रममा एमालेले प्रदेशमा पार्टीका विभिन्न जनसङ्गठनलाई समेत सहभागी गराइने र हजारौँ कार्यकर्तालाई एकैसाथ परिचालन गरिने नेता भट्टराईको भनाइ छ।

कमिटी गठन भएपछि ५ नं प्रदेशको सङ्गठन कमिटीको आज सम्पन्न बैठकमा सहभागी कमिटीका नेता कार्यकर्ताले संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी रहेकामा जोड दिए।
 
बैठकमा ५ नं प्रदेशको सीमाङ्कनलाई नचलाउन र तराई एवम् पहाडका जिल्लालाई अलगअलग गर्ने कुरा कदापि नस्वीकार्न नेतृत्वको ध्यानाकर्षण गराइएको थियो। तराई र पहाडका जिल्लालाई अलग अलग गर्नु भनेको मुलुककै अखण्डतामा असर पुर्‍याउन खोज्नु रहेको भन्दै सहभागीले त्यसका विरुद्ध जनताले पनि खबरदारी गर्न जरुरी रहेकामा जोड दिएका पार्टी स्थायी समितिका सदस्य छविलाल विश्वकर्माले बताए।
 
संविधान संशोधनका नाममा अनेक चलखेल भइरहेकाले त्यस्ता षड्यन्त्रलाई गम्भीरतापूर्वक लिएर परास्त पार्ने उचित रणनीति बनाउन पनि पार्टी नेतृत्वलाई सुझाव दिइएको एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए।
 
बैठकको समापनमा पार्टी उपाध्यक्ष वामदेव गौतमले एमालेले संविधान जारी हुँदादेखि यसको कार्यान्वयनका नेतृत्वका लागि जनतामा जाने कामलाई प्राथमिकता दिएको बताए।
 
पार्टी उपमहासचिव तथा ५ नं प्रदेशका संयोजक विष्णुप्रसाद पौडेलले संविधान कार्यन्वयन र एमालेले गरेका जनपक्षीय कामको जानकारी जनतामा पुर्‍याउन अभियानको उद्देश्य रहेको बताए। पार्टीका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्रको समस्या हल गरिसकिएकाले अब एकताबद्ध भएर जनतामा सन्देश लिएर जान कार्यकर्तालाई आग्रह गरेका छन्। सचिव प्रदीपकुमार ज्ञवालीले एमाले सरकारमा रहँदा गरेका जनपक्षीय कामले अहिले एमालेको पक्षमा जनसमर्थन देखिएको जिकिर गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell