PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

मापदण्ड पूरा नगरेको भन्दै भाटभटेनी कम्प्लेक्समा नगरपालिकाको सिलबन्दी



पहिलोपोस्ट

भक्तपुर : नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ।
 
मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं ४७८ र ५ नं को ५ हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माण कार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरिएको हो।
 
सुपर मार्केट सञ्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो। सिलबन्दीसँगै आजबाटै भवन निर्माणको काम ठप्प भएको छ।
 
नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवतजावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदण्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढङ्गले निर्माण कार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताए।
 
'नक्सा पासको प्रक्रिया नपुर्‍याई निर्माण कार्य सुरु गरियो, पटकपटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो,' उनले भने।
 
प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरे पनि ढिलाइ गरेकाले निर्माण कार्य अगाडि बढाएको बताएका छन्। सरकारी मापदण्ड पूरा गरेरै निर्माण कार्य अगाडि बढाएको उनको दाबी छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell