खोटाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन्।
मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि खोटाङ आएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको स्पष्ट पारे। 'ड्राफ्टको प्रक्रियाको सुरुआत हिजो बेलुकादेखि मात्रै सुरु गरेका छौँ,' उनले भने, 'पहिल्यै नै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी सत्य होइनन्।'
नयाँ सरकार गठनपछि राष्ट्रिय सहमति गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, सर्वस्वीकार्यता बढाउने र पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्दै सुमधुर बनाउनेमा आफू केन्द्रित रहेको उनको भनाइ थियो। देशमा राष्ट्रिय सहमति बन्दै गएको तथा सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक छलफल भइरहेकाले देशले अब चाँडै समाधान पाउने उनको विश्वास थियो।
मधेसी, थारु, आदिवासी जनजातिसँग पनि छलफल गरेर राष्ट्रिय सहमतिमै संविधान संशोधन गर्ने वातावरण बनाइने बताउँदै उनले राष्ट्रलाई एकताबद्ध बनाएर यही सरकारले देशलाई निर्वाचनमा लिएर जाने प्रस्ट पारे।