PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

लोकमानको पक्षमा अवरोध गर्ने अपरिचितको समेत पहिचान खोज्यो सर्वोच्चले



मनोज सत्याल

लोकमानको पक्षमा अवरोध गर्ने अपरिचितको समेत पहिचान खोज्यो सर्वोच्चले

काठमाडौँ : सर्वोच्च अदालतका कर्मचारीहरु गत कात्तिक १ गते अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा म्याद तामेली गर्न जाँदा स्थानीय भन्दै केही व्यक्तिले अवरोध गरे। 

ती मध्ये लोकमानका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक सइ नकुलराज गौतमको पहिचान भइसकेको थियो। उनीहरुलाई विपक्षी बनाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरिसकेका छन्।  
बाँकीको भने पहिचान हुन सकेको छैन। सर्वोच्चले आज उनीहरुको पनि पहिचान खुलाउन आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ता अर्यालले दायर गरेको रिटमा सुनुवाई गर्दै मुद्दामा अवरोध गर्नेहरुको नाम खुलाउन १० नम्बर वडा सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई आदेश दिएको हो। 

पहिचान खुलिसकेकाहरुलाई सात दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्ने आदेश पनि सर्वोच्चले दिएको छ।
 
आनन्दमोहन भट्टराईको आदेशमा भनिएको छ – 'वडा नं १० का कर्मचारीहरु सरिता राई र भेषराज अर्याल यसै अदालतमा तारेखमा रही निजहरुलाई मिति २०७३ कात्तिक २४ गते तारेख तोकिएको देखिँदा उक्त व्यक्तिहरुको नाम, ठेगाना स्पष्ट खुल्न आए निजका नाममा समेतमाथि उल्लेख भए बमोजिमको म्याद जारी गर्नु।'

सर्वोच्च अदालतमा म्याद तामेलीमा अवरोध सम्बन्धि अर्को एक मुद्दामा सर्वोच्चकै तामेलदार शम्भु खत्रीसहित राई र अर्याल तारेखमा छन्। 
को हुन् नाम खुल्न नसकेका व्यक्ति?

गत कात्तिक १ गते अदालतका तामेलदारहरु पुग्दा वडा कार्यालय र नयाँ बानेश्वरस्थित कार्कीको घरमा स्थानीयवासी बताउने एक समूहले अवरोध गरेको थियो। अवरोधकर्ता मध्ये एकले नयाँ बानेश्वर स्थित वडा कार्यालयमा आफूलाइ वडा नागरिक मञ्चको अध्यक्ष भएको बताएका थिए। 

अदालतले ती व्यक्तिको नाम सोधेर उनको घरमा समेत म्याद सात दिन भित्र लिखित जवाफको म्याद तामेल गर्न भनेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell