
एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले अहिले मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा ब्रुनाईसँग प्रतिस्पर्धा गरिरहेको छ।
पहिलो हाफको समाप्तीमा नेपालले १-० को अग्रता लिएको छ। नेपालको लागि पहिलो हाफको इन्जुरी टाइममा नवयुग श्रेष्ठले गोल गरेका हुन्।
तीन टोली मात्र रहेको समूह ए मा टिमोर लेस्टे विरुद्धको पहिलो खेल जितेको भए नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने थियो। तर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएसँगै ब्रुनाईसँगको खेल नेपालका लागि सेमिफाइनल प्रवेश गर्न निर्णायक हुनेछ।
समूहको पहिलो खेलमा लेस्टेलाई ४-० ले हराएको ब्रुनाई भने सेमिफाइनल पुगिसकेको छ। अब नेपालले सेमिफाइनलमा स्थान बनाउन ब्रुनाईसँग बराबरी गरे पनि पुग्छ। ब्रुनाईलाई पराजित गर्न सके नेपाल समूह ए को विजेता बन्नेछ भने बराबरीले उपविजेता बन्नेछ।
यद्यपि ब्रुनाईसँगको हारले पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ। तीन गोलभन्दा कम अन्तरले पराजित भए नेपाल सेमिफाइनल पुग्नेछ। त्योभन्दा बढी गोल अन्तरमा हारे मात्र नेपाल बाहिरिनेछ।