PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​१९ वर्षे केटोको क्रिमिनल कर्तुत : प्रेमिकाको हत्या गरी हराएको उजुरी लिएर प्रहरीमा



सविन ढकाल

​१९ वर्षे केटोको क्रिमिनल कर्तुत : प्रेमिकाको हत्या गरी हराएको उजुरी लिएर प्रहरीमा

काठमाडौँ :  भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको मनोहर खोलाबाट बोडेतर्फ जाने सडकमा शनिबार एउटा बोरा फेला पर्‍यो। प्रहरीले खोलेर हेर्दा भेटियो एक युवतीको लाश। 

महानगरीय अपराध अनुसन्धान महाशाखाले कसको लाश र किन हत्या गरेको भन्ने विषयमा अनुसन्धान थाल्यो। प्रहरीमा परेको हराएको विवरण हेर्दा सिन्धुपाल्चोक महाकाँल गाविस १ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी २३ वर्षकी सन्तोषी भन्ने एलिसा नेपालीको हुनसक्ने देखियो। 

परिवारलाई बोलाइयो। उनीहरुले पनि लाश एलिसाकै रहेको भनी सनाखत गरिदिए। उनको हत्या कसले र किन गर्योब भन्ने रहस्य खुल्न भने बाँकी थियो। महाशाखाका एसपी सहकुल थापाका अनुसार एलिसाको सम्बन्ध खोतल्दै जाँदा उनका प्रेमी शंकाको घेरामा परे। 

रामेछाप नगरपालिका १ ओख्रनी घर भई हाल भक्तपुर बस्दै आएका १९ वर्षीय रेशम लामिछाने भनिने मुक्तिनाथ लामिछानेलाई प्रहरीले केरकार थाले। सुरुमा इन्कार गरे पनि पछि प्रहरीसँगको बयानमा उनले आफ्नै प्रेमिकाको हत्या गरेको स्वीकारे। 

किन गरे प्रेमिकाको हत्या ?

प्रहरीलाई दिएको बयान अनुसार एलिसा र मुक्तिनाथबीच गत वैशाखमा मात्र चिनजान भएको थियो। दुवै जना बूढानिलकण्ठमा रहेको रिफ वाटर प्रोसेसन नामको कम्पनीमा काम गर्थे। 

एउटै कम्पनीमा काम गर्ने दुई जनाको सम्बन्ध नजिकिँदै गयो। प्रेम सम्बन्धमा पर्दा मुक्तिनाथले एलिसालाई पैसा पनि दिने गर्थे। 

एलिसाको अर्को प्रेमीसमेत रहेको थाहा पाएपछि मुक्तिनाथमाथि बज्रपात भयो। प्रेममा धोकाको चोट सहिरहेका लामिछानेले एलिजालाई कात्तिक १२ गते भेट्न भन्दै चाबहिलको गोपिकृष्ण हलमा बोलाए। त्यहाँबाट दुवै मुक्तिनाथको कोठातर्फ लागे। 

कोठामा पुगेपछि मुक्तिनाथले अर्को प्रेमी र आफूले दिएको पैसाको विषयमा एलिसालाई सोधे। दुवै बीच यही विषयमा विवाद चर्कियो। विवादकै क्रममा उनले घरमा रहेको काठको गुन्द्री बुन्ने हतासोले एलिसाको टाउकोमा प्रहार गरे। उनी ढलिन्। तर मुक्तिनाथको आक्रोश सेलाएन। पटक पटक टाउकोमा प्रहार गरी नै रहे। चोट खोप्न नसकेर उनले त्यहीँ प्राण त्यागिन्। 

घटना थियो शनिबार बिहानको। मध्याह्न १२ बजे उनले एलिसाको ज्याकेट, ब्याग, जुत्ता र रगत लागेको कोठाको कार्पेटसमेत एउटा बोरामा हाली दुई किलोमिटर टाढा निलबाराही जंगलमा लगेर फ्याँके। 

उनको कर्तुत त्यतिमा मात्र सीमित रहेन। मरिसकेकी प्रेमिकाको फोनबाट उनका बाबुलाई छोरीको अपहरण गरेको भन्दै साढे १ करोड रुपैयाँ फिरौती मागे।

त्यही रात १० बजे एलिसाको लाशलाई आफ्नै घरमा रहेको कुखुराको दाना हाल्ने प्लास्टिकको बोरामा हाली घरबाट २०० किलोमिटर पश्चिम सडक किनारामा लगी फ्याँके। 

एकातर्फ उनी छोरीको अपहरण भएको भन्दै फिरौती मागिरहेका थिए भने अर्कोतर्फ एलिसाको परिवारसँगै सहयोगीको भूमिकामा रहेर सहयोग गरिरहेका थिए। एलिसा हराएको उजुरी गर्नसमेत प्रहरीकहाँ उनीसमेत पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell