काठमाडौँ : यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजको खोस्टासरह बन्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिभिजनमा सम्बोधन गर्दै आज राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्।
'यी नोटहरु अब कागजको खोस्टा बन्नेछन्', मोदीले भने।
नेपालमा पनि यी दरका नोटहरु अधिकांशसँग हुनसक्छ। यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे नेपाल राष्ट्र बैँकले निर्णय गर्न बाँकी छ।
नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको फेब्रुअरीदेखि हटाएको थियो। त्यतिबेला राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको थियो।
स्रोतका अनुसार नेपाल राष्ट्र बैँकले भोलि नै यसबारे सूचना जारी गर्न सक्छ। 'सम्भवतः १० दिनभित्र नेपालमा भएका यी दरका नोट राष्ट्र बैँकमा बुझाउने समय दिन सकिन्छ', राष्ट्र बैँक स्रोत बताउँछ।
भारतमा भने बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ।
कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्।
भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। भारतमा कुनै ठाउँमा पर्सि र कुनै ठाउँमा भोलिसम्म कतै पनि एटिएम पनि चल्ने छैनन्।
एटिएमबाट प्रति दिन प्रति कार्ड दुई हजार रुपैयाँमात्रै निकाल्न पाइनेछ। पछि यसलाई बढाएर चार हजार रुपैयाँ पार्ने घोषणा गरिएको छ।
भारतमा घुम्न, उपचार गर्न र अन्य प्रयोजनका लागि जाने नेपालीहरुले त्यहाँका एटिएम बुथबाट नेपाली एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने गरिरहेका छन्। उनीहरुलाई पनि यो नयाँ नियमले असर पार्नेछ।
भारतले निकाल्न लागेको नयाँ नोट यस्तो हुनेछ-