PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

५ सय र हजारको भारतीय नोटबारे अन्यौल : कारोबार बिहान १० बजेदेखि नगर्न राष्ट्र बैँकको निर्देशन



सुदर्शन सापकोटा

५ सय र हजारको भारतीय नोटबारे अन्यौल : कारोबार बिहान १० बजेदेखि नगर्न राष्ट्र बैँकको निर्देशन

काठमाडौँ : नेपाल राष्ट्र बैँकले ५ सय र हजारको भारतीय नोटको कारोबार अहिले बिहान १० बजेदेखि नै नगर्न नगराउन सबै बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। 

राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार भारत सरकारले नै गएको मध्यरातबाट यी दरका नोट नचल्ने निर्णय गरेको हुँदा केन्द्रीय बैँकको व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्देशन जारी गरेको हो।

नेपालमा भएका यस्ता नोटको भविष्य भने अन्यौल छ। 'अर्को व्यवस्था नभएसम्मका लागि यो निर्णय कायम रहनेछ', शिवाकोटीले भने। 

'हिजोसम्म भएका त्यो दरका भारुको सटही के गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैँकको टिमले भारतीय दूतावास र अर्थ मन्त्रालयसँग छलफल गर्नेछ, त्यसबाट जे समझदारी हुन्छ र भारत सरकारले हामीसँग भएका आफ्ना नोटहरुको सटहीका सम्बन्धमा जस्तो निर्णय गर्छ, त्यसका आधारमा हामी अर्को सूचना जारी गर्छौँ', उनले भने।
 
उनका अनुसार हिजो बेलुकीको क्लोजिङसम्ममा बैँक तथा वित्तीय संस्थासँग यी दरका भारु जति थिए, त्यो अहिले बिहान ११ बजेसम्म राष्ट्र बैँकमा बुझाउन निर्देशन दिइएको छ।
 

'हामी रिस्क लिन सक्दैनौँ'

यसअघि राष्ट्र बैँकले निश्चित समय दिएर आफूसँग भएका भारु राष्ट्र बैँकमा जम्मा गर्न निर्देशन जारी गर्ने अनुमान गरिएको भए पनि भारतले त्यसको भुक्तानी दिने नदिने निश्चित नभएकोले पहिले सम्बन्धित देशबाटै कन्फर्म गराएर मात्र रकम संकलन गर्ने निर्णय राष्ट्र बैँकले गरेको हो। 

'भारतले कालो धन नियन्त्रण गर्न यो कदम चालेको हो', शिवाकोटीले भने, 'हामीले यहाँ रकम संकलन गर्न थालौँला र उनीहरुले सटही गरिदिएनन् भने के गर्ने? यसले त दुई देशको सम्बन्धमा नै असर पार्न सक्छ। त्यसैले हामी रिस्क लिन सक्दैनौँ।'

मोदीको घोषणा

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति टेलिभिजनमा सम्बोधन गर्दै चार घण्टापछि अर्थात् मध्यरात १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। 

'यी नोटहरु अब कागजको खोस्टा बन्नेछन्', मोदीले भनेका थिए।

नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको फेब्रुअरीदेखि हटाएको थियो। त्यतिबेला राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको थियो।

भारतमा भने बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ।

कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। 

भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। भारतमा कुनै ठाउँमा पर्सि र कुनै ठाउँमा भोलिसम्म कतै पनि एटिएम पनि चल्ने छैनन्। 

एटिएमबाट प्रति दिन प्रति कार्ड दुई हजार रुपैयाँमात्रै निकाल्न पाइनेछ। पछि यसलाई बढाएर चार हजार रुपैयाँ पार्ने घोषणा गरिएको छ। 

भारतमा घुम्न, उपचार गर्न र अन्य प्रयोजनका लागि जाने नेपालीहरुले त्यहाँका एटिएम बुथबाट नेपाली एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने गरिरहेका छन्। उनीहरुलाई पनि यो नयाँ नियमले असर पार्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell