
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालका नेताहरुले गणेशमान सिंहको जस्तो त्यागको भावना देखाउन सके मात्र राजनीतिक स्थिरता कायम हुने बताएका छन्। संविधान कार्यान्वयनका लागि समेत गणेमानसिंहको विचार अनुशरण गर्नुपर्नेमा उनले जोड दिए।
लौहपुरुष गणेशमान सिंहको १०१औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंको शोभा भगवतीमा रहेको उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले संविधान संशोधनका लागि आन्दोलनरत पक्षसँग छलफल चलिरहेको भन्दै नेता सिंहले सहमति नजिक पुगेको जानकारी गराए।
गणेशमानका पुत्रसमेत रहेका सिहंले अहिले हल्ला गरिए जस्तो अंगीकृत नागरिकलाई मुलुकको महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी कुनै कुरा नभएको बताएका छन्। 'संसारमै नभएको कुरा नेपालमा लागू गर्न सकिन्न,' उनले भने, 'कांग्रेस यसको पक्षमा छैन। अव्यावहारिक विश्वव्यापी मूल्यमान्यता बाहिर गएर कुनै सम्झौता हुन सक्दैन।'
गणेशमान सिंह फाउन्डेसनले गरेको कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशी, सांसदहरु राजेन्द्रकुमार केसी, दीपक कुइँकेल, ध्यानगोविन्द रञ्जित, मोहनकुमार राई, चन्द्र महर्जन, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतका नेताहरुले गणेशमानको योगदानमाथि चर्चा गरेका थिए।
आजै दिउँसो १ बजे कांग्रेस जिल्ला कार्यालय ज्ञानेश्वरमा गणेशमानको अर्ध कदको सालिक अनावरण गरिने भएको छ। नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर समेत रहेका गणेशमानको जन्म १९७२ कात्तिक २४ गते
काठमाडौंको यट्खा टोलमा भएको थियो। २०५४ असोज २ मा उनको निधन भयो।