
काठमाडौं : उमेरले ७० पुगेका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धी हुन्। उनी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी श्रीमती र अमेरिकी राष्ट्रपति बाराक ओबामा नेतृत्वमा विदेश मन्त्रालय सम्हालेकी हिलारी क्लिन्टनसँग राष्ट्रपतिमा भिड्दैछन्।
ट्रम्पको चर्चा यतिबेला अमेरिकामा मात्र नभई विश्वभर भइरहेको छ। उनको व्यवहार, सम्पत्ति र व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ।
अमेरिकन ड्रिमको रुपमा चर्चित धनी बन्न चाहनेहरुको सपनालाई ट्रम्पले नेतृत्व गर्छन्। अमेरिकाको मध्यम वर्गीयहरुले उनलाई खुबै रुचाउँछन्। किनभने ट्रम्पका पिता मध्यवर्गीय परिवारमा जन्मिएका थिए। तर उनले रियलस्टेटमा लगानी गरी धेरै सफलता हात पारे।
रियल स्टेट टाइकुन फ्रेड ट्रम्पका छोरा ट्रम्प बिलिनियर हुन्। अमेरिकाको सबैभन्दा महँगो मानिने न्युयोर्कको म्यानह्याटमा पनि उनको सम्पत्ति छ।
१३ वर्षको छँदा ट्रम्पलाई उनका पिताले मिलिटरी एकेडेमीमा पठाए। घरमा ट्रम्पलाई हतियारसँग भेटेपछि पिताले न्युयोर्क मिलिटरी एकेडेमीमा भर्ना गराएका थिए। तर उनलाई गलत व्यवहार गरेको भन्दै त्यहाँबाट निकालियो।
उनले लगत्तै अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कुलमा भर्ना भएर व्यापार पढ्न थाले। अनि ट्रम्पले पारिवरिक व्यापारमा पितालाई साथ दिए। रियलस्टेट बिजनेशसँगै होटल र क्यासिनोमा लगानी विस्तार गरे।
सन् १९७० मा घाटामा रहेको होटललाई ७ करोड डलरमा किनेर जब ट्रम्पले मर्मत गरे उनी रातारात करोडपति बन्न पुगे। त्यो होटल थियो ग्राण्ड हायात।
उनको नाममा विश्वका कैयौँ सहरमा सम्पत्ति छन्। ट्रम्प टावर, ट्रम्प होटल र ट्रम्प प्यालेस छन्। उनी न्युयोर्कको प्रख्यात ट्रम्प टावरमा बस्छन्। त्यही टावरको कार्यालयबाट विश्वभरको बिजनेश हेर्छन्। भारतको मुम्बईमा समेत ट्रम्पको टावर छ।
सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्स जस्ता ब्युटी कन्टेस्ट आयोजना गर्ने कम्पनीका मालिक थिए। कतिपय पुराना मिस युनिभर्सहरुले ट्रम्पको तारिफ गरेका छन् भने यस्ता ब्युटी कन्टेस्टमा उनले दिएको धारणाले उनीमाथि पटकपटक यौन दुर्व्यवहारको आरोप समेत लाग्यो।
ट्रम्प विगतमा टेलिभिजन शो 'द एप्रिनटेस' समेत सञ्चालन गर्थे। शोका कारण उनी सेलिब्रेटी बने। सन् २००४ मा उनको शो अमेरिकामा प्रख्यात बन्यो। 'द एप्रिनटेस'को अर्थ दक्ष कामदारबाट काम सिकेर व्यापार थालनी गर्नु भन्ने हुन्छ।
ट्रम्पको व्यक्तिगत जीवनमा भने धेरै उचारचढाव आएको देखिन्छ। उनले तीन विवाह गरेका छन्। पहिलो विवाह इभाना जेल्नी कोभासँग भएको थियो। दोस्रो विवाह मार्ला मेपलसँग गरे। दुवै पत्नीसँग डिभोर्स भएपछि उनी अहिले तेस्री श्रीमती मिलिनिया नर्ससँग जीवन बिताइरहेका छन्।
सन् २०१५ मा उनले अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने निर्णय लिएका थिए। साथै उनले नारा समेत तय गरे– अमेरिकालाई फेरि एकपटक महान् बनाऔँ।
ट्रम्प अमेरिकी राष्ट्रपति बनेको खण्डमा पहिलोपटक गभर्नरको रुपमा कहिल्यै काम नगरेका व्यक्ति अमेरिकी राष्ट्रपति बन्नेछन्। उनले सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बन्ने रेकर्ड समेत राख्नेछन्। (अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)