
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली मिडियाले आफ्नाबारे अनावश्यक हल्ला गरेको भन्दै आक्रोश पोखेका छन्।
भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मिडियाले हुँदै नभएको समाचार छापेको आरोप लगाए। 'दलाई लामाका प्रतिनिधिसँग भेट भएको जस्ता हुँदै नभएका समाचार आएका छन्,' उनले भने, 'नेपाली मिडियाले यस्तो कार्य बन्द गर्नुपर्छ।'
मञ्चमा चार जनाबाहेक अरु कोही नबसेको र ती पनि दलाईका प्रतिनिधि नभएको देउवाले प्रस्ट्याए।
एक चीन नीतिबारे धारणा राख्दै उनले नेपालको मात्र नभई भारतले पनि यही नीति अपनाउने बताए। 'भारतीय मन्त्रीसमेत एक चीन नीतिविपरीत गर्न सक्दैनन् भने मलाई लगेर दलाईको प्रतिनिधिसँग राख्छन् होला?' उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे, 'लोकप्रियता कमाउने नाममा तपाईंहरुले यस्तो अनावश्यक समाचार लेख्न बन्द गर्नुपर्छ।'
तिब्बत चीनको अभिन्न अंग रहेको र नेपालले अपनाउने एक चीन नीति नै रहेको उनको भनाइ थियो। यसबारे नेपाली कांग्रेसमाथि प्रश्न उठाउन नमिल्ने पनि उनले बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान कार्यान्वयन र पुनर्निर्माणबारे चासो राखेको उनले जानकारी गराए। 'भारतीय सैनिकले लडाइँ मात्र सिकेका छैनन्, निर्माण र इन्जिनियिरङबारे राम्रो ज्ञान रहेको भन्दै उहाँले आवश्यकताअनुरुप उनीहरुमार्फत सहयोग दिन तयार रहेको पनि बताउनुभयो,' सभापति देउवाले भने।
इन्डिया फाउण्डेशनले भारतको गोवामा आयोजना गरेको ‘इन्डिया आइडियाज क्नक्लेभ–२०१६’ मा भाग लिन देउवा त्यसतर्फ गएका थिए। सोही क्रममा निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङेसँग उनको भेट भएको समाचार केही नेपाली मिडियाले प्रकाशन/प्रसारण गरेका थिए।