PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मिडियामाथि खनिएका देउवाको प्रश्न- 'हुँदै नभएको कुरा कसरी आयो?'



रमेश वाग्ले

मिडियामाथि खनिएका देउवाको प्रश्न- 'हुँदै नभएको कुरा कसरी आयो?'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा हुँदै नभएका कुरा किन आयो भन्दै मिडियालाई प्रश्न गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मिडियामा हुँदै नभएका कुरा आएको भन्दै आक्रोश पोखे।
 
आफूले स्वतन्त्र तिब्बत पक्षधर दलाई लामासँग भेटेको विषय हुँदै नभएको भन्दै नभएका कुराका पछि मिडिया किन लागिरहेछन्? भन्दै प्रश्न गरे। ‘एउटा कुरा के भन्नुहुन्छ भने, हुँदै नभएको कुरा हो मैले के भन्ने?’ देउवाले भने, ‘मैले कसको के बिगारेको छु?’ उनले आक्रोशित हुँदै नभएका कुरा शृंखलाबद्ध रुपमा आएको बताए।
 
‘दलाई लामासँग एउटै मञ्चमा बसेको भनिएको छ। दलाई लामा आएकै छैनन्। फेरि उसको को मान्छे आएको भनिएको छ। मञ्चमा बसेकै छैन,’ देउवाले भने, ‘मञ्चमा सुरेश, विजेपीका सभापति र चेन्नाईबाट आएका एक जना अनि म। चार जनाभन्दा बढी कोही बसेकै छैन मञ्चमा।’
 
उनले आफू सिधै ड्यासमा गएको र भाषण सकेर बाहिरिएको प्रस्ट पारे। ‘हुँदै नभएका कुराको हल्ला कहाँबाट आउँछ? भिडियो भनिएको छ, भिडियोमा कुरा भएकै छैन। कसैलाई सोध्नु पर्दैन मिडियाले?’ उनले त्यसो भनेपछि पत्रकारले, ‘त्यसो भए प्रतिनिधिसँग कुरा पनि भएको होइन?’  भन्दै प्रश्न राख्दा देउवा थप आक्रोशित भए।
 
‘कहाँ हुनु? कोसँग कुरा भयो कुन कोठाबाट भयो? हुँदै नभएका कुरा गर्ने?’  उनले प्रश्न गरिरहेका ऋषि धमलातर्फ हेर्दै भने, ‘ठूला कुरा गर्ने?’ मिडियाले पनि अनावश्यक रुपमा आफूलाई खेदिरहेको भन्दै देउवाले चेतावनी समेत दिन भ्याए।
 
‘नेपालका मिडियाले हुँदै नभएको कुरा लेखिदिए,’ आक्रोशसँगै औंलो ठड्याउँदै चेतावनी दिए, ‘भित्तैसम्म पुर्‍याउने हो भने मैले पनि जानेको छु।’
 
नेपालको परराष्ट्र नीति नै एक चीन नीति भएको भन्दै आफू त्यसकै पक्षधर भएको बताए। ‘नेपालको चीन नीति भनेकै एक चीन नीति हो। म त्यही नीतिको पक्षधर हुँ,’ देउवाले भने, ‘नेपालको मात्र कुरा होइन। दलाई लामा भारतमै बसेका छन् तर भारतीय नेताहरु समेत उनलनाई भेट्न अप्ठेरो मान्छन्। भारतकै मन्त्रीहरु उनलाई भेट्दैनन् भने म गएर त्यहाँ उनलाई भेट्छु?’
 
उनले एक चीन नीति नेपाली कांग्रेसको पनि नीति भएको भन्दै आफैं एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। ‘चीन हाम्रो सीमा जोडिएको छिमेकी राष्ट्र हो। तिब्बत चीनको अभिन्न अंग हो,’ उनले भने।
 
त्यसो भए यस्तो विषय कसरी बाहिर आयो त? हाम्रो प्रश्नमा देउवाले प्रतिप्रश्न गरे, ‘म त्यही त सोधिरहेको छु- किन आइहेको छ यो? किन लागे होला नभएको कुरा लेख्नलाई?’
 
उनले संविधानको मस्यौदा भन्दै आएका समाचारलाई पनि हुँदै नभएका कुराकै शृंखलाका रुपमा व्याख्या गरे। ‘संविधान संशोधनको मस्यौदा पनि हुँदै नभएको कुरा हो त्यो। किन लेख्ने भन्या नभएको कुरा?’ उनले भने, ‘भएदेखि हाम्रो केन्द्रीय समितिमा थाहा हुँदैन? दर्ता भएको छ संशोधन प्रस्ताव? आफू खुसी हुन जे पनि भनिदिने?’
 
उनले संविधान संशोधनका लागि एमालेको सहमति अनिवार्य भएको भन्दै आफूले एमालेसँग कुरा गरेपछि मात्र संशोधनको प्रस्ताव तयार हुने बताए। ‘मधेसमा शान्ति होस् भन्ने एमाले पनि चाहन्छ। मलाई विश्वास छ, त्यसकारण एमाले पनि संविधान संशोधनका विषयमा सहमतिमा आउँछ,’  उनको भनाइ थियो।

के सोध्नुहुन्छ तपाईंहरु सोध्नुस्? भन्दै सुरुवात गरेका देउवाले प्रश्न सोधेपछि मिडियालाई गाली गर्नमै अधिकांश समय खर्चिए। कांग्रेसका तीन मन्त्रीहरु डा. प्रकाशशरण महतलाई बायाँ र बालकृष्ण खाँण र शंकर भण्डारीलाई दायाँ राखेर पत्रकार सम्मेलन गरेका देउवाले आफूसँगै भारत भ्रमणमा गएकी श्रीमती आरजुलाई भने साथमा राखेका थिएनन्।
 
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु एनपी साउद, पार्वती डिसी चौधरी र महेन्द्र यादव तथा सांसद्हरु मोहम्बद सिद्धिकी, कोमल पंगेनी र रामहरि खतिवडा पुगेका थिए। त्यसबाहेक माला-खदासहित ठूलै संख्यामा कार्यकर्ता पुगे पनि पत्रकार सम्मेलन स्थलमा भने केहीलाई मात्र छिराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell