- पुष्पकमल दाहाल 'प्रचण्ड'
उनीहरुले भने- म्यागजिन फेरि एकचोटि भर्न पर्यो। म्यागजिन भर्न तपाईं चाहियो। यो प्रशिक्षण तपाईंहरुले चलाउने गरेको हतियारमा म्यागजिन भर्ने प्रशिक्षण हो।
***
कहिलेकाहीँ पार्टी लिडरसिप र त्यहाँभित्र चल्ने बहसले जनतामा काफी कन्फ्युजन ल्याउने स्थिति हामीले देख्ने गरेका छौँ। कहिलेकाहीँ पार्टीभित्र लिडरसिप झण्डैझण्डै एक्लो पर्ने स्थिति देखापरेको हो कि जस्तो जस्तो देखिएका छन्।
उनले लेनिनलाई- घडी पैसा जेजे छ ले, त्यसो भयो भने छाड्छौँ नत्र मार्छौँ भने। तपाईं के गर्नुहुन्छ? तपाईं क्रान्तिकारी हुनका लागि घडी पनि दिन्न पैसा पनि दिन्न, मलाई मारे मार भन्नुहुन्छ कि सबै चिज दिनुहुन्छ?
कोही पनि विवेकशीलले घडी दिन्छ पैसा दिन्छ ज्यान बचाएर आउँछ। अनि पछि डाँकाहरुलाई घेरामा पार्ने कब्जा गर्ने र ध्वस्त पार्ने लाइन लिन्छ।
लेलिनले यस्तो लाइन लिँदा केन्द्रीय कमिटिमा एक्लो पर्नुभयो। स्टालिनले पनि लाइन ठिक छैन भन्नुभयो। आत्मसपर्पण नै हो भन्ने बहस स्टालिनले गर्नुभयो। मेरो कुरा नमान्ने हो भने समाजवादी सत्ता रहँदैन भनेर राजीनामा दिएपछि मात्रै गहिरो कुरा होला भनेपछि।
नेपालमा चलेको हिसाब गर्नुहोला। हाम्रो पार्टीको प्रधानमन्त्रीको हैसियतले भारत र चीनसँग सम्बन्ध सन्तुलित र संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको विषयमा हामीले अपनाएको कार्यनीति हिसाब गर्नुहोला।
माओ त्से तुङले सांस्कृतिक क्रान्ति सुरु गर्दा युवाहरुलाई अपिल गरेर सुरु गर्नुभएको थियो। त्यति बेला समकालीन नेताबीच ठूलो अन्तरसंघर्ष थियो।
अहिले यहाँ बाबुराम भट्टराई हुनुहुन्न। मोहन वैद्य किरण पनि हुनुहुन्न। हामी संघर्षमा छौँ। माओ त्से तुङले जनता र युवालाई विश्वास गरेर हाम्रो आशा तपाईंहरुमाथि छ।
मलाई पनि के भन्न लागेको छ भने, सरकार र पार्टीको सन्दर्भमा पनि हाम्रो आशा तपाईं युवा र विद्यार्थीमाथि छ। तपाईंहरुले कुरा बुझ्नुभएन भने देश र माओवादी आन्दोलन दुर्घटनामा पर्नेछ। त्यसैले यो विषयलाई गहिरोगरी विचार गर्नुहुनेछ।
अहिले थुप्रै मिडियामा हामीमाथि आक्रमण भएको छ। घेराबन्दी भएको छ। यो जुन शक्ति, वर्ग र तत्वले हामीलाई अहिले व्यापक रुपमा हमला गरेको छ। त्यसले आज मात्र गरेको होइन।
हामी जति बेला जनयुद्ध सुरु गर्दै थियौँ, त्यति बेला पनि त्यो वर्ग, त्यो शक्ति, त्यो प्रवृतिले हमला गरेकै थियो। जति बेला हामी जनयुद्धको नेतृत्व गर्दै थियौँ, त्यति बेला पनि त्यो वर्गले हमीलाई हमला गरेकै थियो।
अहिले पनि फेसबुक र ट्वीटरमा गाली गरेर मरेको लास झुन्ड्याएर या अनेक गरेर प्रतीकात्मक रुपमा हाम्रो टाउको काट्ने काम गरिराखेको छ। त्यो कोसिस गरी नै राखेको छ।
त्यति बेला सरकारले निर्णय नै गरेर सञ्चारमाध्यमबाट हाम्रा नेताहरुको टाउकोको मूल्य तोक्नेहरु यिनै होइनन् त?
तपाईं युवा विद्यार्थी आत्तिन पनि सक्नुहुन्छ, के भएको होला यस्तो जताततै? तर हामीलाई त्यति लाग्दैन किनभने हिजो टाउकोको मूल्य तोकिएर झोलामा टाउको ल्याएर पचासौँ लाख पाउँछौ भन्ने गरेका मान्छेहरुले अहिले गाली मात्र गरेको देख्दा त न्यायो मात्रै लाग्छ। त्यसले छुने गरेको छैन। त्यसले छुने गरेको भए हामी प्रधानमन्त्री भएर हिँड्ने हैसियत पनि रहने थिएन। तपाईंहरुको अगाडि बोल्ने हैसियत पनि रहने थिएन।
४० वर्षदेखि हामी निरन्तर बाहिरको प्रतिक्रियावादीको वर्गको आक्रमणमा छौँ। र हामीले ४० वर्षदेखि त्यसको प्रतिवाद पनि गर्दै आएका छौँ। त्यसको प्रतिरोध पनि गर्दै आएका छौँ। शान्ति प्रक्रियाको १० वर्षमा पनि त्यो भिन्न रुपमा जारी छ। यो आक्रमण निरन्तरको प्रतिक्रियावादी आक्रमणकै भिन्न रुप हो।
मैले प्रमको रुपमा बोल्दा पनि सुख छैन, अध्यक्षको रुपमा बोल्दा पनि सुख छैन। तर मैले दुवै रुपमा बोल्छु। किनभने म अहिले दुवै छु।
हिजो हामीले सुरुङ युद्ध गर्दा हामीलाई अहिले लम्पसार भन्नेहरुले देशभक्त भनेर सम्मान गरेका थिए त? हिजो मैले प्रधान्मन्त्रीबाट राजनीनामा दिएर जनताको बीचमा गएर राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताका लागि लड्दा अहिले यो प्रचार गर्ने मानिसहरुले हामीलाई महान् देशभक्त भनेर सम्मान गरेका थिए त? अनि पच्चीसौँ वर्षसम्म विदेशी चाकडी र दलाली गर्नेहरु रातारात राष्ट्रवादीको ढोँग फुक्दा नेपाली जनताले पत्याउने कुनै आधार छ त?
राष्ट्रियताको परिभाषाबारे धेरै मैले भन्नुपर्दैन। नेपालको सिमानाभित्र बस्ने सबै जातजाति, भाषा, लिङ्ग, वर्ग, समुदाय सबैलाई एकताबद्ध गर्न बल गर्नु राष्ट्रवाद हो कि एउटा समुदायको पक्ष लिएर अर्को समुदायलाई निषेध गर्न खोज्नु राष्ट्रवाद हो?
हामीले सजिलै बुझ्न सक्छौँ। हामीले माओवादी आन्दोलनको सिर्जना गर्दैगर्दा, कम्युनिस्ट क्रान्तिकारी धारा निर्माण गर्दैगर्दा, सबैको पहिचान र अधिकार सहितको एउटा नयाँ राष्ट्रवादको कुरा गर्यौँ। एउटा प्रगतिशील राष्ट्रवादको कुरा हिजो हामीले जनयुद्धमै स्थापित गरेको होइन र?
हामीले यहाँका राजा-महाराजाले चलाएको राष्ट्रवाद, यहाँका सामन्ती नोकरशाहहरुले चलाएको राष्ट्रवादका विरुद्ध नेपालका सबै उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र सबैको नयाँ एकता-नयाँ समावेशिता-नयाँ समानता-एउटा नयाँ राष्ट्रियताको जगेर्ना गरेकै हो।
अहिले हामीमाथि जो हमला भएको छ, त्यो हमला यथार्थमा प्रगतिशील राष्ट्रवादमाथि सामन्ती निरंकुश राष्ट्रवाद, वर्ग विशेष उपल्लो वर्गको राष्ट्रवाद थोपर्ने र त्यसको आधारमा हामीमाथि हमला गर्ने कोसिस भएको छ।
यसको प्रतिवाद हामीले गरेनौँ भने नयाँ राष्ट्रवाद र माओवादी धाराले तयार गरेको राष्ट्रवाद सुदृढ गर्न सक्दैनौँ।
विदेशको नीतिको सन्दर्भमा भनिन्छ, घरेलु नीतिको पार्टी या सरकारले अपनाउने नीति नै विदेश नीति हो। हामीले बुझेको कुरा– देशभित्र हामीले कस्तो नीति अपनाउँछौँ? सबै जातजाति, भाषा, वर्ग, समुदायलाई एकताबद्ध गराउने र सामन्त नोकर दलाललाई आइसोलेट गर्ने नीति अपनाउँछौं भने हाम्रो विदेश नीति पनि त्यही हुन्छ। हामीले त्यसो गर्दैनौँ र लोकतान्त्रिक प्रक्रिया अपनाउँदैनौँ भने हाम्रो विदेश नीति पनि त्यस्तै हुन्छ।
सामान्ती तत्वहरु पहिले कहिले यो साम्राज्यवादी शक्तिसँग त कहिले ऊ साम्राज्यवादी शक्तिसँग आत्मसमर्पण गर्ने गरेकाले उनले कहिले पनि विदेश नीति सन्तुलन राख्न सम्भव थिएन र राख्न सकेनन्।
त्यही सामन्त नोकरशाह र दलाहरुकै हितको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाइ हेर्नुभयो भने पनि कहिले यो शक्तिको दलाली त कहिले ऊ शक्तिको दलाली गर्छन् र आफूलाई कहिले राष्ट्रवादीको रुपमा त कहिले लोकतन्त्रवादीको रुपमा प्रस्तुत गर्ने धृष्टता गर्छन्। जबकि राष्ट्रियता र लोकतन्त्र एकअर्कामा छुट्याउन सक्ने प्रबन्ध नै होइन। राष्ट्रियता र लोकतन्त्र एकअर्कासँग अभिन्न रुपमा गाँसिएका हुन्।
कार्यनीतिक रुपमा कहिले खास परस्थितिमा एकतिर जोड दिनुपर्ने अवस्था आऊला र आयो पनि। राष्ट्रियताको विषय कहिले लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने क्षण भयो। तर समग्रमा छुट्याउन सक्ने अवस्था होइन। यी दुई एकअर्का बिना अस्तित्वमा रहनै सक्दैनन्।
अहिले हामीले स्थापित गरेको कम्युनिस्ट क्रान्तिकारीहरुले तयार गरेको र माओवादी आन्दोलनको आइडेन्टिटीमाथि तीव्र प्रहार भइरहेको छ। अहिले आफ्नो र आन्दोलनको प्रतिरक्षमा निरन्तर संघर्ष गर्न तपाईंहरुलाई आग्रह गर्न चाहन्छु।
अहिले हामीमाथि चौतर्फी हमला भएकाले हामी तिलमिलाउने भएको हुन सक्छ। तपाईंहरु पनि कता हो भनेर, त्यो प्रहार गोला बारुद बर्संदा चारैतिर अँध्यारो हुन सक्छ। त्यस्तो तपाईंले अनुभव गर्न सक्नुहुन्छ।
यो लडाइँ हो, चलिराखेको छ। एक जना कमरेडले भन्नुभयो– कहिलेकाहीँ हामीले चलाएको बन्दुक भरुवा बन्दुक जस्तो लाग्ने। अनि हाम्रो विरोधीले चाहिँ रकेट र मेसिनगन प्रहार गरेजस्तो हुने। चारैतिरबाट रकेट र मेसिनगन प्रहार भयो भने तपाईंको भरुवा बन्दुकले मात्रै धेरै बेर टिक्न सक्दैन।
प्रतीकात्मक रुपमा बुझ्नुहोला यो कुरा। प्रतीकात्मक रुपमा बुझ्नुहुन्छ भनेर म यो भन्दैछु।
हिजो पत्रपत्रिमा, रेडियोमा हाम्रो टाउको काट्ने कुरा आउँथ्यो। हाम्रो बारेमा राक्षस, दाह्रानंग्रा भएको जस्तो चित्रित गरिन्थ्यो। अनि हामी त्यसको प्रतिकार राम्रो फौजी रणनीति र राम्रो राजनीतिक कार्यनीति बनाएर भण्डाफोर गर्ने र भीषण फौजी हमलाबाट एकचोटिमा ध्वस्त पार्ने गर्थ्यौँ।
अहिले स्थिति फरक छ। हामीले त्यो लडाइँको मोर्चामा प्रतिक्रियावादीको त्यो झुट्टा प्रचार भण्डाफोर गर्न सबैले सिकेका थियौँ। गाउँमा लड्ने सहरमा लड्ने गरेका थियौँ। लड्ने आर्क क्लियर थियो। अहिले आर्क नै कुन हो भन्नेमा कन्फ्युज जस्तो भएका छौँ। तर अब हामी विस्तारै सिक्दैछौँ। लडाइँ त उही हाम्रो जारी छ। रुप फेरिएको छ र हामी सिक्दैछौँ। राजनीतिक रुपमा फेरिए पनि एकताबद्ध भएर प्रतिकार गर्नुको विकल्प छैन।
हिजो दुस्मनले नेताको टाउको काटेर ल्याउ भन्दा नेतृत्व प्रति गर्व लाग्थ्यो कि घृणा लाग्थ्यो? हिजो नेता सम्झँदा गर्व लाग्थ्यो। नेताको लागि बलिदान गर्न गाह्रो लाग्दैन थियो। तर अहिले त्यही दुस्मन हो। त्यही वर्ग हो। यही विचार हो। उसले नेतृत्व र पार्टीमाथि हमला गर्न छाडेको छैन। तर हामी कन्फ्युज छौँ। हिजो नेतृत्वको रक्षा गर्न अगाडि बढ्न हुने हो कि होइन भन्ने भन्ने प्रश्न हामीलाई मथिंगलमा छ।
दुस्मन आफ्नो कुरामा प्रस्ट छ। माओवादी आन्दोलनलाई धराशायी नपारेसम्म, माओवादी आन्दोलनलाई पूरै बदनाम नगरेसम्म हिजो नमारेसम्म भन्ने थियो। अहिले पनि छ त्यो। तर मार्नुअगाडि पूरै बदनाम गरेपछि सजिलो हुन्छ मार्न। गरेको त उही छ। दुस्मन फेरिएको छैन। तपाईं हामी केही फेरिएका छौँ। गल्ती यही भएको छ। तपाई हामीले फेरि एकपटक संकल्प गर्ने कि नगर्ने?
जे जस्तो हल्ला भए पनि पार्टीको प्रतिरक्षा गर्ने कि नगर्ने? यो सवाल देशभरिका सबैको अगाडि खडा छ। यो कुरा आत्मसात गर्नुपर्नेछ।
(प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजधानीको राष्ट्रिय नाचघरमा अनेरास्ववियु क्रान्तिकारीले गरेको कार्यक्रममा गरेको सम्बोधनको अंश)