
काठमाडौं : कात्तिक १२ गते कीर्तिपुरका रुपचन्द्र महर्जनले झोलुङ्गे पुलबाट तरकारी बोकेर आउँदै एक युवतीको फोटो खिचे। सामाजिक सञ्जालमा राखे। पछि त्यही फोटो भाइरल बन्यो। देशविदेशबाट ती युवतीका समाचार छाए।
उनै युवती तरकारीवाली उर्फ कुसुम श्रेष्ठले देशविदेशका मिडियामा हाइप पाइन्।
उनलाई फिल्म र मोडलिङको अफर आएको खबर पनि खुब छायो। उनले अन्तर्वार्ता दिँदा अभिनयमा रुचि भएको पनि जनाएकी थिइन्। 'लम्फु' फिल्ममा अभिनय गर्न र 'जंग बहादुरको कोट' युनिटले कुसुमलाई आफ्नो नयाँ प्रोजेक्टमा लिन चाहेको खबर पनि आयो।
लम्फु निर्देशकले आफ्नो फिल्ममा हिरोइन नै लिने घोषणा गरेका थिए। उनले कुसुमलाई फोन गरेर तत्काल अफर पनि गरे। तर कुसुमले भनिन्, 'म घरमा सोधेर निर्णय गर्छु।'
त्यस्तै जंगबहादुरको कोट निर्माता योगेन्द्र खड्काले फेसबुक पोस्टमार्फत कुसुमलाई नयाँ फिल्ममा खेलाउन इच्छुक भएको र कसैले सम्पर्कमा ल्याइदिन आग्रह गरेका थिए।
के भयो त कुसुमले अभिनय गर्न पाउने भनिएको फिल्म निर्माता निर्देशकको निर्णय?
दुई फोटोका कारण चर्चामा आएकी कुसुमका अन्य फोटो सार्वजनिक भएपछि तारिफसँगै ट्रोल पनि बन्न थाले। साथै फिल्म अफर गरेका निर्देशक निर्माता पनि आफूले लिएको निर्णय प्रति सकारात्मक रुपमा प्रस्तुत भएनन्।
पहिलोपोस्टसँगको कुराकानीमा लम्फुका निर्देशक गोपालचन्द्र लामिछानेले भने, 'तरकारीवालीले अझै निर्णय दिएकी छैनन्। भोलिसम्ममा घरसल्लाह गरेर फिल्म खेल्ने/नखेल्ने भन्छु भनेकी छिन्।'
कास्टिङका क्रममा रहेका लामिछानेले आफूले खोजेको जस्तै पात्र तरकारी वालीमा देखेर अफर गरेको जनाए।
लम्फुमा हिरोइन बनाउने भनिए पनि अहिले लामिछाने भन्छन्, 'फोटो हिट भयो भन्दैमा मेजर रोल दिनपर्छ भन्ने मलाई लाग्दैन।'
जुन रोल दिइन्छ त्यसमा चित्त बुझाउने नबुझाउने कुसुमकै मर्जी भएको लामिछानेले बताए। 'खेल्छु/गर्छु भनिन् भने चाहिँदो ट्रेनिङ दिएर वर्कसप गराएर फिल्ममा लिन्छौं,' उनको भनाइ छ।
तरकारीवालीलाई आफ्नो नयाँ प्रोजेक्टमा लिने इच्छा व्यक्त गरेका निर्माता योगेन्द्र खड्का भन्छन्, 'म आफैं फिल्म क्षेत्रमा लगानी कन्टिन्यु गरौं/नगरौं द्विविधामा छु।'
सुरुमा दर्ता नगरी फिल्मको नाम सार्वजनिक गर्दा नाम चोरी हुने डरले नयाँ प्रोजेक्ट घोषणा नगरेको खड्काले बताएका थिए। उनले कुसुमलाई सुहाउँदो गाउँकी केटीको भूमिका रहेको पनि जनाए। तर कुराकानीका क्रममा उनले फिल्मी क्षेत्रमा लगानी गर्दा मोल्नुपर्ने रिस्कका कारण अहिले नै कुनै निर्णय लिन नसक्ने बताए। भने, 'फिल्मको कथा त रेडी छ। फिल्म बन्यो भने उनलाई पनि रोल दिन्छु।'
फिल्म खेलाउने रहर गरेका उनले कुसुमले सरकारीदेखी अन्य मिडियामा अन्तर्वार्ता दिइसक्दा पनि उनीसँग सम्पर्क गरेका छैनन्। भन्छन्, 'उनले खेल्छु भनेर आइन् भने फिल्ममा खेलाउँछु।'
गोरखा भुम्लिचोक-८ की कुसुम चितवनको कोएस्ट मोडल कलेजमा कक्षा ११ मा कर्मश पढ्छिन्। फोटो भाइरल भएपछि अहिले उनी पढाइमा कम र फोन तथा इन्टरभ्युमा व्यस्त भएको कुसुमका काका पदम श्रेष्ठले बताए।