PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्छु : प्रधानमन्त्री



पहिलोपोस्ट

एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हुन्न भन्न नसक्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन्।
 
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण भेलामा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पारित गर्न दुई तिहाई आवश्यक रहेकाले आफू छलफलमा रहेको बताए। 'संविधान संशोधनमा पनि सत्तापक्ष र प्रतिपक्षको सहमति बनाउन लागिरहेको छु। दुई तिहाई संविधान संशोधनका लागि चाहिन्छ। जबरजस्ती गर्छु भनेर हुने स्थिति छैन,' उनले भने।
 
संविधान संशोधनमा एमालेले विरोधका लागि विरोध गर्न सक्ने अवस्था भने रहेको उनको भनाइ थियो।
 
'संविधान संशोधनमा प्रतिपक्ष आउँछ कि आउँदैन थाहा छैन। तर यसरी प्रस्ताव दर्ता गर्दैछु कि उहाँहरुले हुन्न भन्न नमिल्ने गरी गर्दैछु,' प्रचण्डले भने, 'तर त्यति गर्दा पनि हुन्न भन्न बेर छैन। प्रचण्डले जे ल्याए पनि विरोध गर्नुपर्छ भन्ने भयो भने जनताले बुझ्छन्।'
 
उनले कांग्रेसको सहमतिबिना महाभियोग प्रस्ताव पनि पारित हुन नसक्ने भएकाले कांग्रेससँग पनि छलफल भइरहेको जानकारी गराए।


'महाभियोगको सन्दर्भमा पनि दुई तिहाई बहुमत चाहिन्छ। तर कांग्रेससँग एक तिहाईभन्दा बढी छ। कांग्रेसको समर्थन नभए पारित हुन्न। चर्कोचर्को कुरा गर्ने तर पारित भएन भने हुदैँन,' उनले आफू सहमति निर्माणका लागि लागिरहेको प्रस्ट्याए।
 
राज्य पुनर्संरचना आयोगको प्रतिवेदन आएलगत्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने पनि प्रधानमन्त्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell