PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

बढ्दैछ राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच दूरी



मनोज सत्याल

बढ्दैछ राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच दूरी

काठमाडौँ :  सोल्टी होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित स्टेट ब्याङ्क्वेटमा राज्यका सबै विशिष्ट व्यक्तित्वहरु उपस्थिति थिए।

मुखर्जीले आफ्नो लिखित भाषण वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानन्यायाधीश सुशीला कार्कीसँगै सभामुख ओनसरी घर्तीको नाम पनि सम्बोधन गरे। तर घर्ती भने त्यहाँ उपस्थित थिइनन्।

छिमेकी मुलुकका राष्ट्रपतिको भ्रमण भएको दिन उनी रोल्पा पुगेकी थिइन्। कुनै अति जरुरी काम नरहे पनि उनले छिमेकी राष्ट्रपतिको औपचारिक कार्यक्रम नै किन छाडिन् त?
 
वास्तवमा राज्यका दुई प्रमुख पदमा रहेका यी दुई महिलाबीच पछिल्लो समय दूरी बढिरहेको छ। आफूले गरेको नियुक्ति सिफारिस राष्ट्रपतिले रोकिदिएपछि घर्ती राष्ट्रपति भण्डारीसँग असन्तुष्ट छिन्। 

किन बढ्यो दूरी?

सभामुख ओनसरी घर्तीले गत भदौ १३ गते संसद सचिवालयको सचिव पदमा नियुक्तिका लगि गोपालनाथ योगीलाई सिफारिस गरेकी थिइन्। तर दुई महिना बित्दासमेत राष्ट्रपति कार्यालयले योगीको नियुक्ति सदर गरेको छैन। राष्ट्रपतिले नेकपा एमालेका नेताहरुको प्रभावमा परेर नियुक्ति रोकिदिएको भन्दै सभामुख घर्ती अहिले राष्ट्रपति भण्डारीसँग असन्तुष्ट बनेकी हुन्।

सभामुख घर्तीले संविधानको २९६ को उपधारा १ बमोजिम सल्यानका गोपालनाथ योगीलाई सिफारिस गरेकी थिइन्। संसद ऐन अनुसार सचिवमा नियुक्त व्यक्ति महासचिव बन्न सक्ने प्रावधान छ। 

संविधान निर्माणका बेला समेत आवश्यक नरहेको राजनीतिक सचिव पदमा अहिले नियुक्ति गर्न लागिएको भन्दै एमालेले सभामुखको सिफारिसको विरोध गर्दै आएको छ। 

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिनले आलंकारिक पद भएपनि राष्ट्रपतिले सभामुखको सिफारिस रोक्नु आश्चर्यको विषय भएको बताए। 

'सभामुखले संविधान र प्रक्रियासम्मत ढंगले भदौ १३ गतेको मितिमा सिफारिस पठाउनु भएको हो। तर आजको मितिसम्म राष्ट्रपति कार्यालयबाट के कस्तो कारवाही भयो भन्ने जानकारी आएको छैन। संवैधानिक प्रक्रिया अन्तर्गत गरिएको सिफारिस बारे कुनै निर्णय किन नआएको हो भन्नेबारेमा सभामुख र संसद सचिवालय आश्चर्यमा परेका छौँ', उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell