PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्जमा बिना लाइसेन्सका ई-रिक्सा सञ्चालनमा प्रतिबन्ध, चालकहरु आन्दोलित



राधेश्याम पटेल

वीरगन्जमा बिना लाइसेन्सका ई-रिक्सा सञ्चालनमा प्रतिबन्ध, चालकहरु आन्दोलित

वीरगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बिना लाइसेन्स ई–रिक्सा चलाउन वीरगन्जमा रोक लगाएको छ। मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको निर्देशनसहितको पत्रको अधारमा बुधबारदेखि पर्सामा ई–रिक्सामा प्रतिबन्ध लागेको हो।
 
रोक लगाइएको पहिलो दिन नै प्रहरीले १६४ वटा रिक्सा नियन्त्रणमा लिएको थियो। ई-रिक्सा चलाउन नदिइएपछि चालकहरु आन्दोलित भएका छन्। वीरगन्जमा ४ वटा ई-रिक्साको संगठन छ।
 
नियन्त्रणमा लिइएको रिक्सा चलाउन पाउनुपर्ने ई–रिक्सा इलेक्ट्रोनिक्स चालक कम्पनी प्रालिका अध्यक्ष अमजद अन्सारीले बताए। बिना लाइसेन्स १० महिना चलाइयो भने अब किन नपाउने भन्ने चालकहरुको तर्क छ।
 
अर्का चालक सन्तोष कुशवाहा भन्छन्, ‘लाइसेन्सको लागि यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जमा निवेदन दिएका छौं, चाँडै लाइसेन्स प्राप्त गर्छौं। बिना सूचना अहिले प्रहरीले रोक लगाउन मिल्दैन।’
 
वीरगन्जमा हाल १८ सयभन्दा बढी ब्याट्री र तेलबाट चल्ने ई–रिक्सा सञ्चालनमा छन्। सहरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनाएकाले ई–रिक्सामाथि रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक अर्जुन भट्टले बताए।
 
यात्रु तथा सर्वसधारण भने प्रहरीको यो कदमबाट खुसी भएका छन्। प्रदूषण बढाउने रिक्सा रोक लगाउनुलाई उनीहरुले सकारात्मक रुपमा लिएका छन्।
 
जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले माथिल्लो निकायको निर्देशन अन्तर्गत बिना लाइसेन्स ई–रिक्सा सञ्चालनमा रोक लगाइएको जानकारी दिए।
 
यातायात व्यवस्था कार्यालय नारायणीको सवारीतर्फ नारायणी अञ्चालमा मात्रै ८ हजार ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ। गएको कात्तिक ३ र ७ गते ई-रिक्साको लाइसेन्सको लागि लाइसेन्स शाखातर्फ चालकहरुको लागि आवेदन पनि खोलिएको थियो। २५ गतेपछि ट्रायल र लाइसेन्स वितरणको काम हुने यातायातका खरिदार बद्री दहाल बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell