चन्द्रौटा (कपिलवस्तु) : तराई मधेस लोकतान्त्रिक पार्टीले स्थानीय तह पुनःसंरचनाप्रति असन्तुष्टि जनाएको छ।
सविधान संशोधन नभएसम्म स्थानीय तहको संरचनाको खाकसम्बन्धी कुनै पनि कार्य नगर्न दलले अनुरोध गरेको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको संरचना प्रदेश सरकारले गर्नुपर्ने माग गरिएको छ। गाउँपालिकाका लागि हिमालमा १३ हजार, पहाडमा २० हजार र तराईमा ४० हजार जनसङ्ख्या तोक्नु विभेदकारी नीति भएको भन्दै तमलोपाले विरोध जनाएको छ। सबै क्षेत्रमा समान हुनुपर्ने तमलोपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्राले बताए।
मधेसमा ५१ प्रतिशत जनसङ्ख्या रहे पनि त्यसअनुसार सिट नआउने भएकाले यो स्थानीय संरचना गलत भएको उनको भनाइ छ। मधेसवादी दलले असन्तृष्टि जनाउँदै गर्दा एकलौटी तरिकाले पेलेर जानु गलत भएको भन्दै यस्तो कार्य रोक्न माग गरिएको छ।
कपिलवस्तुमा स्थानीय तह संरचना अन्तर्गत पाँच नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति भए पनि मधेसवादी दलले त्यसको विरोध जनाएका छन्। एक व्यक्ति विशेषले गरेको निर्णयलाई आफूहरुले नमान्ने भन्दै यस विषयमा संविधानको धाराअनुसार कार्य गर्न सकिने मधेसी नेताले बताएका छन्।रासस