PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणपछि सुन तोलामा १४ सय घट्यो



पहिलोपोस्ट

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणपछि सुन तोलामा १४ सय घट्यो

काठमाडौं : बुधबार आकासिएको सुनको भाउ फेरि ओरालो लागेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भए सुन अझ चम्कने भविष्यवाणी गरिँदै आएको थियो। तर, चुनावअघि धेरै चर्का कुरा गर्ने ट्रम्पले विजयीपश्चात सबैलाई समेटेर लैजाने भाषण गरेको कारण सुन ओरालो लागेको विश्लेषण गरिएको छ।
 
बुधबार तोलामा १३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार १४ सय रुपैयाँले घटेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणको प्रभाव सुन बजारमा परेको हो।
 
ट्रम्पले जितेमा अमेरिकी अर्थतन्त्र ओरालो लाग्ने र लगानीकर्ता सुनमा ओइरिने विश्लेषण गरिँदै आए पनि चुनावपछि उनको टोन परिवर्तन भएसँगै अर्थतन्त्रप्रतिको विश्वास बढेको जनाइएको छ। बुधबारको भाषणमा ट्रम्पले सम्पूर्ण अमेरिकालाई एकीकृत हुन प्रोत्साहित गरेका थिए।
 
आर्थिक क्रियाकलापमा कुनै योजना नबनाएका राष्ट्रपति चुनिएपछि लगानीकर्ताले लगानी सुरक्षित गर्न सुनमा लगानी गर्ने धेरैको अपेक्षा थियो। तर ट्रम्पको भाषणले लगानकर्ताको मन तानेको हुन सक्ने शाक्यले बताए।
 
'सुनको भाउ अझै घट्ने सम्भावना रहेको ट्रेण्डले देखाउछँ,' उनले भने।
 
अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औँश ३४ अमेरिकी डलरले घटेको छ। बुधबार अमेरिकाको वालस्ट्रिट बजार नखुलुन्जेल सुनको भाउ अस्थिर बनेको थियो। अमेरिकी लगानीकर्ताले सुनप्रति खासै मतलब नगरेपछि मूल्य घटेको हो।
 
बुधबार बिहान प्रति औँश १३ सय १९ अमेरिकी डलर पुगेको सुनको भाउ साँझ अमेरिकी बजार खुल्नेबित्तिकै बढेर प्रति औस १२ सय ८४ अमेरिकी डलर पुगेको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ बुधबार सुनको भाउ तोलाको ५६ हजार २ सय रुपैयाँ पुगेको थियो।
 
सुनको भाउसँगै चाँदी पनि १० रुपैयाँले सस्तिएको छ। महासंघका अनुसार बिहीबार चाँदी तोलामा ८ सय ३५ रुपैयाँ पुगेको छ।
 

'मोदीको भाषणको प्रभाव'

भारु ५ सय र हजारका नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको असर पनि सुन बजारमा परेको शाक्यले बताए। मोदीले कालोधन निस्क्रिय पार्न यो निर्णय लिएको र सुनमा समेत ठूलो परिमाणमा त्यस्तो लगानी भएको अनुमान गरिएको छ।
 
'कालोधन निस्क्रिय पार्ने निर्णयले भारतीय मुद्रा मजबुत बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भारुसँगै डलर पनि बलियो बनेको छ। सुनमा त्यसको पनि अप्रत्यक्ष प्रभाव परेको हुन सक्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell