
काठमाडौं : विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठमा आजदेखि पाँचदिने मेला सुरु भएको छ।
बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कात्तिक शुक्ल पक्षका पाँच दिन धेरै भिड लाग्ने गरेको छ।
यो समयमा यहाँका सक्रिय संस्थाले सामूहिक रुपमा विशेष मेला चलाउने गरेका छन्। यसका लागि सबै संस्थाको प्रतिनिधित्व हुने गरी एक सय एक सदस्यीय हरिबोधनी एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक धनबहादुर खातीले बताए।
मेलाकै अवसर पारेर कात्तिक २३ गते मङ्गलबारदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिएको समितिका संयोजक एवम् बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले जानकारी दिए।
कात्तिक २९ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन भइरहेका छन्। आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो। यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ। यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। रासस