.jpg)
काठमाडौं : आफूहरुलाई बेवास्ता गरिएको भन्दै तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरु यति बेला आन्दोलनमा छन्। दुई दिनअघि माओवादी केन्द्रको मुख्यालय रातभर 'कब्जा' गरेर बसेका उनीहरुले बिहीबार दिउँसो संसद भवन नयाँबानेश्वर अगाडि धर्ना दिए।
बालबच्चासहित भेला भएका उनीहरु कालोपट्टी बाँधेका देखिन्थे। आफूहरुमाथि लगाइएको 'अयोग्य' बिल्ला फिर्ता गरी गणतन्त्रका योद्धा घोषित गर्नुपर्ने, बहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेनाको सरह व्यवहार गर्नुपर्ने, पक्राउ बहिर्गमित जनसेना बिनासर्त रिहा गर्नुपर्ने तथा घाइते, मानसिक रुपमा बिरामी र अशक्त्तहरुलाई सरकारले औषधि उपचार गर्नुपर्ने लगायत ७ बुँदे मागसहित उनीहरु आन्दोलनमा छन्।
सोमबार दिउँसोदेखि रातभर पार्टी मुख्यालय नियन्त्रणमा लिएर धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहानै प्रहरीले पक्राउ गरी त्यहाँबाट हटाएको थियो।
जनयुद्धका बेला सुप्रिम कमाण्डर रहेका प्रचण्ड अहिले प्रधानमन्त्री रहँदा पनि आफूहरुको माग सुनुवाइ नभएको उनीहरुको गुनासो छ। माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिनि बिस्टले बताए। 'हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं, माग पूरा नभएसम्म फरक फरक शैलीमा यो चलिरहनेछ।'