
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति मागेका छन्।
सभामुख ओनसरी घर्तीको कार्यकक्षमा ओलीसँग भेटेर प्रचण्डले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न अनुमति मागेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भेटमा प्रचण्डले ओलीलाई ‘संविधान संशोधन गर्छु। त्यसका लागि संशोधन प्रस्ताव दर्ता गर्छु। तपाईंको पनि अनुमति चाहियो’ भनेका हुन्।
भेट संविधान संशोधनको विषयवस्तुमाथि नै छलफल केन्द्रित थियो।
ओलीले भने सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबीच छलफल आवश्यक रहेको बताएको आचार्यले बताए।
बैठकपछि एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा मात्र छलफल भएको उल्लेख गर्दै पन्छने प्रयास गरे। यद्यपि पत्रकारले संविधान संशोधनमा के छलफल भयो भन्ने जिज्ञासामा ओलीले प्रतिप्रश्न गर्न भुलेनन्।
ओलीले भने, 'संविधान संशोधन केमा केका लागि किन गर्ने?'
नेकपा एमालेले औचित्य पुष्टि भए मात्र संविधान संशोधन हुन सक्ने धारणा राख्दै आएको छ।
प्रेस सल्लाहकार आचार्यले भने प्रधानमन्त्रीले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिरहेको जानकारी दिए।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच गम्भीर ढंगले कुराकानी भएको उल्लेख गर्दै आचार्यले ओली पनि सकारात्मक रहेको बताए। संशोधनका विषयमा प्रधानमन्त्री प्रचण्डले विभिन्न पक्षसँग छलफल गरिरहेका छन्।
यसअघि संविधान संशोधनको ड्राफ्ट लिक हुनुअघि पनि प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका थिए। अंगीकृत नागरिकलाई पनि राष्ट्रपति र प्रधानमन्त्री दिन सकिने प्रावधान भएको ड्राफ्टलाई सरकारले भने अस्वीकार गरेको थियो। (फोटो : रासस)