
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको छनोट चरणमा अर्जेन्टिनालाई ठुलो झड्का लागेको छ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत एघारौं चरणको खेलमा ब्राजिलसँग पराजित भएपछि शीर्ष चार भित्र अटाउँदै सिधा विश्वकपमा छनोट हुने अर्जेन्टिनाको अभियानमा धक्का लागेको हो।
ब्राजिलको बेलो होरिजेन्टेमा भएको खेलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो।
यो त्यहि मैदान हो जहाँ सन् २०१४ को विश्वकप फाइनलमा ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो।
अर्जेन्टिना र ब्राजिलबीचको खेललाई स्पानिस जायन्ट बार्सिलोनाबाट सँगै खेल्ने लियोनल मेसी र नेमारको शो डाउनको रुपमा हेरिए पनि दुवै खेलाडीको आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनन्। तर ब्राजिलको जितमा नेमार १ गोल गरे।
ब्राजिलले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गर्यो। २४ औं मिनेटमा फिलिप काउटिन्होले डि एरिया बाहिरबाट उत्कृष्ट गोल गर्दै घरेलु टोली ब्राजिललाई अग्रता दिलाए।
एक गोलको अग्रता बनाएपछि खेलमा हावी बनेको ब्राजिलको लागि पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै अग्रता दोब्बर पारे।
दोस्रो हाफमा अर्जेन्टिनाका प्रशिक्षक बाउजाले सर्जियो अगुएरोलाई मैदान उतारेसँगै मेसी, हिग्वेन र एगुएरोको फरवार्ड लाइनले पनि गोल गर्न सकेन।
यता दुई गोलको अग्रता बनाएको ब्राजिल दोस्रो हाफमा पनि हावी रहयो। ब्राजिलको लागि ५९ औं मिनेटमा पाउलिन्होले तेस्रो गोल गरे।
ब्राजिलसँगको हारसँगै अर्जेन्टिना छनोट चरणको अंक तालिकामा छैटौ स्थानमा छ। जुन शीर्ष स्थानमा रहेको ब्राजिल भन्दा ८ अंकले पछि हो। ११ औं चरणको समाप्तीपछि २४ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ। अर्जेन्टिनाको भने १६ अंक मात्र छ।
२३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ। उरुग्वले इग्वेडरलाई २-१ ले हरायो।
अर्को खेलमा कोलोम्विया र चिलीले गोलरहित बराबरी खेलेका छन्।
कोलोम्विया १८ अंकसहित तेस्रो स्थानमा छ भने समान १७ अंक जोडेको इक्वेडर र चिली क्रमश चौथो र पाँचौ स्थानमा रहेको छ।
यस्तै पाराग्वेलाई ४-१ ले पराजित गर्दै पेरुले पनि १४ अंक जोडेको छ। हारका बाबजुत पनि १५ अंक रहेको पाराग्वे सातौं स्थानमा छ भने पेरु आठौं स्थानमा छ।
छनोटमा भेनेजुएलाले पनि पहिलो जित हात पार्ने क्रममा बोलिभियालाई ५-० ले हरायो। पहिलो जितसँगै कुल ५ अंक जोडेको भेनेजुएला अंक तालिकामा बोलभियालाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । ४ अंक रहेको बोलिभिया दशौं स्थानमा छ।