इटहरी : देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ।
डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ।
प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँच जना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सक सुनिल जिरेलले बताए। डेङ्गुपीडित भएर आउनेलाई आकस्मिक कक्षबाटै उपचार गरेर डिस्चार्ज गरिँदै आएको छ। उपचारका लागि धरानबाटै आएकी एक बालिका र एक अर्का व्यक्तिको मेडिकल विभागमा उपचार भइरहेको छ।
प्रतिष्ठानको आकस्मिक कक्षमा एक दिनअघि झापाको दमक–१५ बाट डेङ्गुपीडित भएर आएका २८ वर्षीय सञ्जय निरौला आकस्मिक कक्षमा नै उपचार गराइरहेका छन्। रासस