PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

लोकमानलाई राहत : संसदमा महाभियोग छलफल थप तन्किने, कार्यविधिसमेत पारित हुन सकेन



मनोज सत्याल

लोकमानलाई राहत : संसदमा महाभियोग छलफल थप तन्किने, कार्यविधिसमेत पारित हुन सकेन

काठमाडौँ : संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्तावबारे छलफल थप लम्बिने भएको छ। तिहार अगाडि नै सुरु भएको छलफल हिजोबाट जारी रहनु पर्ने भए पनि हिजोको बैठक स्थगित गरी आज सारिएको थियो। 

आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा हुने छलफलपछि बैठक आगामी २९ गतेसम्मका लागि स्थगित गर्ने तयारी छ। सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा 'बबिन' का अनुसार त्यसपछि सभामुख ओनसरी घर्ती एक साताका लागि रसिया जाने कार्यक्रम छ। सभामुख आगामी मंसिर ४ गते विदेश जाँदैछिन्। 

सम्भवतः सभामुख फर्किएपछि मात्रै अर्को बैठक बस्नेछ। यसले पनि महाभियोग छलफल लम्ब्याउनेछ। 
 
संसदमा छलफल सकिएको भए त्यहाँबाट महाभियोग सिफारिश समितिमा उक्त प्रस्ताव जाने थियो र एक महिनाको अवधिमा समितिले छानबिन पूरा गरी महाभियोग लाग्ने/नलाग्ने प्रतिवेदन दिन्थ्यो। छलफल नै लम्बिने भएकोले प्रतिवेदनसमेत लम्बिने भएको छ। प्रतिवेदनपछि मात्र संसदमा महाभियोगबारे मतदान भई त्यसको अन्तिम टुङ्गो लाग्थ्यो। 
 
उता, ११ सदस्यीय महाभियोग सिफारिश समितिले अहिलेसम्म पनि आफ्नो अध्यक्ष चुन्न र कार्यविधि पारित गर्न सकेको छैन। आज बिहान बसेको समितिको बैठकमा कांग्रेस सदस्यहरुले कार्यविधि अपुरो रहेको र थप छलफल आवश्यक रहेको प्रतिक्रिया दिएको समिति सदस्य तथा राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले बताए। कांग्रेस सदस्यले तरुण दलको आसन्न महाधिवेशनलाई समेत कारण देखाएपछि समितिको आगामी बैठक मंसिर २ गतेसम्मका लागि स्थगित गरिएको छ। 

समितिमा कांग्रेसबाट चार, एमालेबाट चार, माओवादी केन्द्रबाट दुई र राप्रपा नेपालबाट १ सदस्य छन्। 

मधेसकेन्द्रित दलको बहिस्कार गर्ने तयारी
यसैबीच मधेसकेन्द्रित दलहरुले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव ल्याउनु पर्ने माग गर्दै आजदेखि संसदमा विरोध गर्ने तयारी गरिरहेका छन्। कात्तिक पछि सुरुवात हुने बैठकमा मोर्चाले नाराबाजी र अवरोध गर्ने तयारी गरिरहेको छ। यसले मंसिरमा बस्ने बैठकमा पनि महाभियोग माथि छलफल प्रभावित हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell