PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अवसानको चार दशकपछि आयो प्रजातान्त्रिक योद्धाको उपन्यास 'रिकुटे'



पहिलोपोस्ट

अवसानको चार दशकपछि आयो प्रजातान्त्रिक योद्धाको उपन्यास 'रिकुटे'

काठमाडौं : नेपाली प्रजातन्त्रिक आन्दोलनका अविस्मरणीय व्यक्तित्व दिवानसिंह राईद्वारा लिखित उपन्यास 'रिकुटे'को नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकार्पण गरेका छन्।
 
राजधानीमा बिहीबार गरिएको लोकार्पण कार्यक्रममा बोल्दै देउवाले प्रकाशन क्षेत्र र पाठकका लागि इतिहास बोकेका यस्ता पुस्ता संग्रहणीय हुने भन्दै प्रशंसा गरे। 'उहाँ (दिवानसिंह) लाई मोरङको एउटा झोडामा अमानवीय तरिकाले हत्या गरियो,' देउवाले भने, 'अब यस्ता मर्ने र मार्ने कार्यको अन्त्य हुनुपर्छ।’
 
अर्का वक्ता तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्तकमा गाउँदेखि युद्धका वर्णनसम्मका कुराहरु सटिक ढंगले उठाइएको बताए। नेपाली राजनीति, समाज र लाहुरेको युद्धकथाको चित्रणले पुस्तक रुचिकर बनेको उनको भनाइ थियो।
 
त्यसैगरी उपन्यासकार राईको व्यक्तित्वमाथि प्रकाश पार्दै कवि शैलेन्द्र साकारले २०१५ सालमा गृह राज्यमन्त्री भएका राई जेलमा बसेका बेला अस्तित्ववादबारे बिपी कोइरालाबाटै ज्ञान लिएको जानकारी दिए। अर्का वक्ता लेखक-समालोचक हरि अधिकारीले राईको उपन्यासले नेपाली औपन्यासिक क्षेत्रमा आञ्चलिकताको परम्परालाई पूर्वी पहाड र किरात संस्कृतिबीच समन्वय गरेको बताए।
 
भोजपुरमा जन्मिएका राईको 'निर्दोष हत्या' उपन्यास पनि प्रकाशित छ। किराती सौन्दर्यबारे राईले नै दिएको जानकारीका आधारमा बिपीले ‘सुम्निमा’ उपन्यास लेखेको भन्ने गरिन्छ। राई बिपीसँगै सुन्दरीजल जेलमा परेका थिए। सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धमा लडेका राईले गोर्खा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए। १९८३ मा जन्मिएका उनको निधन २०३१ सालमा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell