
काठमाडौँ : मधेसकेन्द्रित दलहरुले संसद बैठक बहिस्कार गरेका छन्। नयाँ सरकार गठनपछि दलहरुले पहिलोपटक संसद बैठक बहिस्कार गरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि तीन बुँदे सहमति गर्दै मोर्चाले प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको थियो। संसद बैठकमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले विगतमा भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए।
उनले सरकारले मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ताको साटो उल्टो नयाँ नयाँ मुद्दा दर्ता गरेको बताए।
त्यस्तै आन्दोलनका छानबिनको लागि आयोग गठनको निर्णय भए पनि काम थालेको बारे कुनै जानकारी नआएको उनको भनाइ थियो। 'मुद्दा मामिला फिर्ता भनियो तर नयाँनयाँ दर्ता भएको छ', उनले भने, 'आन्दोलनका निम्ती आदेश दिने, आह्वान गर्ने नेताहरु सरकारको कुर्सीमा समेत बसेको अवस्था छ। तर आन्दोलनको आदेश पालना गर्ने कार्यकर्ता जेलको चिसो छिँडीमा छन्।'
राईले संविधान संशोधनमा समेत सरकार उदासीन बनेको आरोप लगाए। 'संविधान सर्वस्वीकार्य बनाउन गरिने कामसँग सम्बन्धित अजेण्डामा सरकार बिल्कुल निदाएर बसेको अवस्था छ,' उनले भने।
संघीय सजमावादी फोरम नेपाल, तमलोपा, तमसपा, सद्भावना, फोरम गणतान्त्रिक लगायतका दलहरुले संसद बैठक बहिस्कार गरेका हुन्।