PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर गाथा : संसदमा कनिकाको रिपोर्टिङ



किशोर नेपाल

कान्तिपुर गाथा : संसदमा कनिकाको रिपोर्टिङ

कनिका खुशी थिई। पत्रकारितामा सक्रिय भएदेखि उसको दिमाग र दिल दुवै ठीक थियो। सुदिप्तीले उसलाई एउटा ठेगाना दिएकी थिई। नत्र त उसको कुनै ठेगाना थिएन। चार्लीको नाममा बुद्धचित्तको माला दायाँबाट बायाँ र बायाँबाट दायाँ घुमाउनु, दिनभर कफी पसलमा लम्पसार पर्नु र साँझ मन मिल्ने साथीहरुसँग जीन टनिक, तकिला वा भोड्का तन्काउनु बाहेक अरु कुनै रुटिन थिएन।
 
कोर्स बुक पढ्न मन नलाग्ने, क्याम्पस जान अल्छी लाग्ने, गए पनि क्याफेटेरियामा साथीभाइसँग गफ लडाएर टाइम पास गर्ने। अहिले कनिकालाई यस्ता कुरा सोच्न पनि मन लाग्दैन। ऊ आफनो लाइफ स्टाइलसँग खुशी छे। खुशी यस निम्ति पनि छ कि आफूप्रति मानिसको आकर्षण कति छ भन्ने थाह पाएकी छ। अनिकेत मात्र होइन, उसले लेखेका समाचारका मूल पात्रहरु नायक वा खलनायक जे भए पनि उसप्रति आकर्षित भएको, अझ मर्नै खोजेको थाह थियो उसलाई। घरमा ड्याडी र मामु पनि खुशी थिए। उनीहरु कनिकाका रिपोर्टिङहरु सधैँ पढ्थे र सुझाव दिन्थे। ड्याडी कनिकालाई भाषामा सुधार ल्याउन सुझाव दिन्थे। कनिकाले चाहने हो भने उनी उसका लागि भाषामा दखल भएको नेपाली टिचर खोजेर कोचिङ गराउन पनि तयार थिए। तर, कनिकामा कन्फिडेन्स थियो। अंग्रेजीमा नसोची दुई लाइन शुद्ध नेपाली लेख्न नजान्ने मानिस अहिले राम्रै नेपाली लेख्थी। उसको लेखाइ गम्भीर हुन्थ्यो। यो उसले सुदिप्तीबाट सिकेकी थिई।
 
कनिकाले चार्लीलाई अनिकेतका बारेमा केही बताएकी थिइन्। चार्लीले के सम्झिने हो? मनमा द्विविधा थियो। यस्ता कुराले चार्लीलाई फरक पर्दैन भन्ने थाहा थियो कनिकालाई। तैपनि, उसमा चार्लीसँग अनिकेतको चर्चा गर्ने साहस थिएन। उसलाई कताकता मनमा लागेको थियो, यो त चार्लीलाई विश्वासघात गरेसरह नै हो। कनिकामा आएको ठूलो परिवर्तन यही थियो कि ऊ कुनै पनि विषयलाई बाल मतलबको शैलीमा पन्छाउने प्रवृत्तिबाट मुक्त भएकी थिई। सम्बन्धहरुलाई गम्भीरताका साथ हेर्ने दृष्टि परिमार्जित भएको थियो। ऊ सानातिना कुराबाट मुक्त थिई। उसको लगनशीलताले उसलाई प्रोफेशनलको हैसियतमा उचालेको थियो।
 
त्यो दिन कनिका अलिकति लिजर मूडमा थिइ। ऊ सुदिप्तीसँग मनका कुरा शेयर गर्न चाहन्थी। अनिकेतसँग उसको सम्वन्ध गम्भीर थिएन। उनीहरु बेलाबेलामा भेटिरहन्थे। कुराकानी गर्दथे। न त अनिकेतले कनिकाको दिलमा पस्ने कोसिस गरेको थियो। न त कनिकामा नै अनिकेतप्रति कुनै उत्साह र उत्सुकता थियो।
 
अफिसमा पुगेपछि उसको कल्पना सबै भताभुंग भयो। सुदिप्तीले उसको नाममा जारी भएको संसद रिपोर्टिङको पास भिडाई र भनी, ‘आइ होप कनि, यू वील इन्ज्वाय दि बेस्ट कमेडी अफ दि सिटी ओभर देयर।’ कनिकाले भनी, ‘बट सुदिप्ती, आई एम इन दि लिजर मूड। थिंकिङ आई वील टक वीथ यू।’
 
‘वी क्यान डु द्याट इन दि इभनिङ। आई वील ट्रिट यू। नाउ यू गो पार्लियामेन्ट एण्ड हायभ फन,' सुदिप्तीको जवाफ थियो।
 
यो सारै 'अड बीट' थियो कनिकाका लागि। राजनीतिका बारे उसलाई केही थाहा थिएन। इस्सूजका बारेमा पनि उसलाई केही जानकारी थिएन। उसले भोलालाई कन्ट्याक्ट गरी। भोलासँग उसको चिनजान रिपोर्टिङकै सिलसिलामा भएको थियो। भोला पोलिटिकल बीट नै हेर्थ्यो। कनिकाले भोलासँग आफनो समस्या शेयर गरी। भोला हाँस्यो र भन्यो, ‘डन्ट वरी, लेडी चार्म। आई वील हेल्प यू। बट दिस इज नट फ्री। यू हायभ टू ट्रिट मी ल्याभिस्ली।’
 
भोलाले उसलाई राजनीतिक रिपोर्टिङको बेसिक मात्र सिकाएन, देशको राजनीतिक परिदृश्य पनि बुझायो। हाउस शुरु हुने संकेत घन्टी बजेपछि उनीहरु प्रेसका लागि निर्धारित ठाउँतिर लागे। कनिकालाई हाउसको बनोट राम्रै लाग्यो। उसले देखी- सांसद बस्ने सिटहरु खालीखाली छन्। सभामुख आएर आफनो आसनमा बसिसकेकी छिन्। प्रतिपक्षका दर्जनभर सांसद बसेका छन्। सरकारका मन्त्रीहरुको पत्तो छैन। सभामुख रुल्लटुल्ल देखिन्छिन्। निर्वाचित संसदप्रति सांसदहरुकै उपेक्षा, संसदप्रति पार्टीहरु र सरकारको गैरजिम्मेवार व्यवहार र संसद परिसरमा केही मानिसको राउडी खालको हर्कत देखेर कनिका छक्क परेकी थिई।
 
त्यो दिन संसद लामो समय चलेन। छलफलका लागि संसदमा कुनै विषय नै थिएनन्। कनिका यो सुनेर छक्क परी। छलफलका लागि रिपोर्टरहरुसँग त यति धेरै विषय छ भने संसदसँग विषय नै नहुनु त अचम्मै हो।
 
साँझ अफिस पुगेर कनिकाले सुदिप्तीलाई सुनाई, ‘नो कपी टुडे। हार्ड न्यूज त केही छैन। बट आई क्यान प्रड्यूस अ गुड कपी। डन्ट वरी।’
 
त्यसपछि सुदिप्ती र कनिका रोडहाउसतिर लागे। सुदिप्ती आज निकै निकै खुशी थिई। यो डबल खुशीको रोमान्च केही मिनटपछि अनुभूत गर्नेवाली थिई– कनिका। कनिकाले पहिले आफनो समस्या सुनाई सुदिप्तीलाई।
 
सोधी, ‘भनूँ कि नभनूँ चार्लीलाई अनिकेतसँगको दोस्ती?’
 
जवाफ दिनुभन्दा पहिले सुदिप्ती लामो हाँसो हाँसी।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell