
काठमाडौं : फ्राइडे रिलिजमा यो हप्ताबाट दुई नेपाली फिल्म एकसाथ हलमा उत्रिएका छन्। प्रदीप भट्टराई निर्देशित 'जात्रा' र आशिष भेटवाल निर्देशित 'जंगबहादुरको कोट' प्रदर्शनमा आए।
जात्रामा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य आदिको मुख्य भूमिका रहेको छ। फिल्मबाट युट्युबमा हजारौं हिट्स कमाएकी प्रेक्षा उर्फ परीले डेब्यु गरेकी छिन्। फिल्ममा भने उनको भूमिका र संवाद निकै कम रहेको छ।
पैसाको आवश्यकता, मोह र पैसाकै कारण असनमा व्यापार गर्ने तीन व्यापारीको जीवनमा सिर्जना हुने अवस्था फिल्मको प्रमुख विषय हो।
जात्रालाई सिङ्गे लामा र यादव पौडेलाले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मकै कलाकार रविन्द्रसिंह बानियाँले कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका हुन्।
त्यस्तै बिके फिल्मस् प्रालिको प्रस्तुति जंगबहादुरको कोटलाई जयन खड्काले निर्माण गरेका हुन्। फिल्ममा बेलायत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले किनेको एउटा कोटको प्रसंगलाई उठाइएको छ।
नेपाल र अस्ट्रेलियाका विभिन्न ठाउँहरुमा फिल्मको छायांकन गरिएको छ।
विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारहरुको अभिनय यसमा देख्न सकिन्छ।
हिन्दीतर्फ भने 'रक अन टु' सार्वजनिक भएको छ।
सुजात सौदागर निर्देशित फिल्ममा श्रद्धा कपुर, फरहान अख्तर, अर्जुन रामपाल, पुरब कोहली, प्राची देसाइ लगायत मुख्य भूमिकामा देखिएका छन्। एक्सएल इन्टरटेनमेन्टको प्रस्तुति रक अन टुको कथा अभिषेक कपुर र पुबाली चौधरीले लेखेका हुन्।
फिल्ममा नौ गीत समावेश छन्। नायकनायिका स्वयंले पनि स्वर दिएका छन्।
यी तीन वटै फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा हल पाएका छन्।