काठमाडौं : सांसदहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाभियोगको पक्षमा खनिएका छन्।
संसदमा जारी महाभियोगमाथिको छलफलमा उनीहरुले महाभियोग पारितको पर्याप्त कारण र आधार रहेको दाबी गरे।
कार्कीविरुद्ध सबैभन्दा आक्रामक रुपमा प्रस्तुत भए कांग्रेस सांसद धनराज गुरुङ। उनले कार्कीलाई साँढेसँग तुलना गर्दै 'पशुपतिनाथबाट हटाएरै छाड्ने' वाचा गरेर आएको बताए।
गुरुङले भने, 'गौशाला नजिक बाटो जाममा पर्यो। केही छिनपछि सडकको बीचमा छाडा छाडिएको साँढे रहेछ। त्यसैले जाममा परेको रहेछ। पशुतपतिनाथको मन्दिरमा पुग्दा अर्को साँढे बडो शालीनका साथ भद्रताका साथ कर्तव्य निभाइरहेको देखेँ। त्यो देखेपछि मैले पशुतपिनाथको अगाडि उभिएर संकल्प गरेँ– गौशालाको चोकमा नियम कानुन, संविधान मिचेर उभिरहेको त्यो साँढेलाई यही पशुपतिको अगाडि उभिरहेको कर्तव्य पालन गरिरहेको साँढे जस्तै तह लगाउँछु भन्ने प्रण गरेर संकल्प बोकेर यहाँ उभिएको छु।‘
गुरुङले महाभियोगको जग आफूहरुले बसाएको समेत दाबी गरे। ‘जग हामीले बसाएको हो, अहिले घर बनेपछि देखियो, छानो छाउन बाँकी छ’, उनले भने।
अदालतको म्याद तामेलीमा अवरोध र संसदीय समितिमा बोलाउँदा बोल्न नमिल्ने बहाना बनाउनु नै महाभियोग लगाउन पर्याप्त आधार भएको गुरुङको दाबी थियो।
त्यस्तै, नेकपा एमालेका सांसद पुरुषोतम पौडेलले आफूलाई मन्त्री रहँदाको अवस्थामा समेत अख्तियारले कारबाहीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेको उदाहरण दिँदै अधिकार क्षेत्र मिचिएको बताए।
‘बहालवाला मन्त्रीलाई कारबाही गर्ने अधिकार छैन, स्वार्थका निम्ति कारबाही गर्न खोजियो, विषय अदालतमा विचारधीन छ’, उनले भने।
नेकपा मालेका शिवचन्द्र चौधरीले अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाएर उदाहरण कायम गर्नुपर्नेमा जोड दिए। महादेवले भष्मासुरलाई टाउकोमा छुँदा भष्म हुने वरदान दिएको र पछि आफैँ भाग्नुपर्ने अवस्था आएको उदाहरण दिँदै उनले दलका नेताहरुको अहिलेको अवस्था त्यस्तै रहेको दाबी गरे।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले दलहरुले विगतमा लोकमानसिंह कार्कीलाई बाध्यतावश नियुक्ति गरेको बताए। उनले बिरालो मारेको देखिने तर दूधको तर खाएको नदेखिने गरेको भन्दै नियुक्तिमा राजनीतिक दलहरुले गरेको गल्तीको प्रसङ्ग कोट्याए। राजनीतिक दलहरुले एउटा भ्रष्ट्राचारी कर्मचारीलाई कारबाही गरेको देखाउन खोजेर आफूहरु उम्कन खोजेको उनको भनाइ थियो।
अझै पनि दलहरु कार्कीलाई राजीनामा गराएर चोख्याउने दाउमा लागेको टिप्पणी गर्दै सदनमा सांसदहरुलाई उफार्न खोजेको उनले टिप्पणी गरे।
नेपाल परिवार दलकी मिलनकुमारी राजवंशीले महाभियोगको विषय गम्भीर विषय रहेको उल्लेख गर्दै छानबिनबाट दोषी दिखिए महाभियोग पारित गरेर जानुपर्ने बताइन्।