PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

हामीलाई संसदमा उफ्रन लगाएर लोकमान चोख्याउने दाउ त भइरहेको छैन?



पहिलोपोस्ट

हामीलाई संसदमा उफ्रन लगाएर लोकमान चोख्याउने दाउ त भइरहेको छैन?

  • चित्रबहादुर केसी
लोकमानसिंह कार्कीमाथिको महाभियोग छलफल अहिले जारी छ। तर यसको टुङ्गो कसरी लाग्छ त्यो हेर्न बाँकी छ।
 
भ्रष्टाचारबारे मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्थाले भनेको छ– नेपालमा भ्रष्टाचार अत्यन्तै हुन्छ। त्यसमा पनि भ्रष्टाचारको एक नम्बरमा राजनीति गर्ने हामीहरुलाई भनेको छ।
 
अब लोमानसिंह कार्कीलाई नचिनेर अहिले उरालधुराल पार्ने काम भइराखेको छ। सबैभन्दा पहिलो कुरा त लोकमानको इतिहास के हो भन्ने हाम्रा ठूला नेताहरुलाई, संसदका ठूला नेतालाई थाहा थिएन त?
 
उहाँ राजाको हुकुम प्रमाङ्गीबाट दयामायाबाट भर्ती भएको थाहा थिएन। त्यसपछि मुख्य सचिव हुँदा २०६२/६३ को आन्दोलनमा नेपाली जनतालाई निर्मम दमन गरेको, राष्ट्रको ढुकुटी उडाएको त्यो त ठूला नेताहरुलाई जसले प्रजातन्त्रको कुरा गर्नुहुन्छ, भ्रष्टाचार विरोधी कुरा गर्नुहुन्छ, के लोकमानलाई संवैधानिक निकायको प्रमुखमा भर्ना गर्ने बेला जानकारी थिएन?
 
नेताहरुलाई जानकारी थियो। तर उहाँहरुलाई पनि बाध्यता भयो। नेपाली एउटा उखान छ– अर्काकै करिया मै के गरुँ भगवान्। समस्या उहाँहरुलाई परेको पनि त्यही हो। उहाँहरुले लोकमानलाई झुक्किएर अख्तियार प्रमुख बनाउनु भएको होइन। उहाँहरुलाई त्यो काम गर्न बाध्य पारियो।
 
जुन दिन लोकमानको सपथ ग्रहण गर्ने कुरा भयो त्यसको एक दिन पहिले एउटा दलको प्रतिनिधि मण्डल गएर तत्कालीन राष्ट्रप्रमुखलाई सपथ खुवाउनु हुन्न भनेको छ। नागरिक समाजले सडकमै विरोध गरेको छ। विद्यार्थीले गरेको छ। राष्ट्रिय जनमोर्चाले गरेको छ। त्यति ठूलो विरोध हुँदाहुँदै पनि उहाँहरुले भर्ना गर्नुभयो।
 
तर अहिले दूधको तर खाएको देखिन्न बिरालो मारेको देखिन्छ भनेजस्तो भएको छ। अब भर्ना गर्नेहरु चोखा हुने र जिम्मेवार हुन नपर्ने अब एउटा भ्रष्ट कर्मचारी भर्ना गरेर जम्मै भ्रष्टाचारको सबै बाढी उतातिर खन्याएर आफू चोखो हुने जुन पद्धति छ त्यो हाम्रो लागि दुखदायी कुरा हो।
 
त्यसैले त्यति बेला केको आधारमा, कसले दबाब दिएर लोकमानलाई त्यो पदमा राख्न बाध्य हुनुभयो? यदि राष्ट्रप्रति र नेपाली जनताको खसोखास प्रतिनिधि हो भने यो रोष्टममा आएर भर्ना गर्ने साथीहरुले भन्नुपर्छ। कि हामीलाई यसरी बाध्य पारियो र यस्तो दबाब आयो भनेर। हाम्रो घाँटी अँठ्याएर भर्ना गर्न दबाब आएकाले केही लागेन त्यसकारण हामीले भर्ना गरेका हौँ भन्नुपरो।
 
हाम्रा केही माननीय यहीँ हुनुहुन्छ, जुन बेला अफिस नखुल्दै, पत्रकारलाई पस्न नदिई त्यति बेला राष्ट्रप्रमुखले सपथ खुवाउनुभयो। त्यसको दुई चार दिनपछि हामीले राष्ट्रपतिलाई भेटेर ‘तपाईंले किन सपथ खुवाउनुभयो महामहिम, अफिस नखुल्दै, मिडियालाई जानै नदिएर किन यस्तो गर्नुभयो? सोध्यौँ।
 
उहाँले भन्नुभयो– मलाई दबाब आयो।
 
तर उहाँलाई दबाब नेपालको होइन। कुरा गर्न नसक्ने बेग्लै कुरा हो। अहिले पनि जसले भर्ना गराउनका लागि हाम्रा ठूला नेतालाई गर्दनमा हात लाएर भर्ना गरेको हो त्यो ठाउँबाट कारबाही गर्न हुन्न भनेपछि जतिसुकै उफ्रिए पनि मच्चियो मच्चियो थच्चियो हुनेछ।
 
म त्यसैले संसदको रोष्टमबाट के भन्न चाहन्छु भने– एउटा भ्रष्टाचारी कर्मचारीलाई कारबाही पनि गर्न सक्दैनौँ भने हामीले यो मुलुकमा सिन्को भाँच्न सक्दैनौँ। जनताको समर्थन र सहयोग निरर्थक हुन्छ।
 
त्यसले लोकमानले संसदको र सर्वोच्चको आदेश उल्लघंन गरिरहेको बहाना अहिले छँदैछ। हामीलाई यहाँ उफ्रन लगाएर राजीनामा गराएर चोख्याउने दाउ हुन सक्छ।
 
(राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका विषयमा संसदमा शुक्रबार राखेको धारणा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell