काठमाडौं : पाँचौं महिला तथा छैटौं पुरुष बिच भलिबल प्रतियोगिता आगामी मंसिर १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ।
चारदिने प्रतियोगिता काभ्रेको दोलालघाटस्थित सुनकोसी नदी किनारमा सञ्चालन हुनेछ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक बिच भलिबल प्राकृतिक स्थलमा हुन लागेको हो।
नेपाल भलिबल संघको आयोजना तथा काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापन र संयोजनमा प्रतियोगिता हुनेछ।
यसअघि कृतिम स्थलमा नै बिच भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस पटक साँच्चिकै नदी किनारमा खेल्न पाउनुले खेलाडीहरुमा समेत फरक अनुभव हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए।
बिच भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरेर कुल ३२ टोलीको सहभागिता रहने आयोजक नेपाल भलिबल संघले जनाएको छ। जसमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेछ।
हरेक विकास क्षेत्र र विभागबाट महिला र पुरुष दुवैतर्फ समान २/२ टोलीले भाग लिनेछन्। यस्तै कोच र म्यानेजर गरी कुल ३२ अफिसियल रहनेछन्।
प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुवैतर्फका विजेताले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार तथा तेस्रो हुनेले १० हजार हात पार्नेछन्।
काभ्रे जिल्ला भलिबल संघले प्रतियोगितालाई ऐतिहासिक र भव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए।
यस्तै लिगकम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको टाइसिट 'ड्र' र पुल निर्धारण प्रतियोगिताको पहिलो दिनमै घोषणा गर्ने महासचिव चन्दले जानकारी दिए।
यदि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर आएको खण्डमा महिला र पुरुष दुवैतर्फ सेमिफाइनलसम्म पुग्ने टीमका खेलाडीले त्यसमा सहभागिता जनाउने अवसर पाउने पनि चन्दले बताए।
कुल १२ लाख बजेट लाग्ने अनुमान गरिएको प्रतियोगिताको लागि नेपाल भलिबल संघले १ लाख २५ नगदसहित बल र नेट उपलब्ध गराउने भने बाँकी खर्च काभ्रे जिल्ला संघले बेहोर्ने बताइएको छ।
चौथो महिला बिच भलिबल प्रतियोगिताको उपाधि एपिएफकी सरस्वती चौधरी र नेविका चौरीको जोडीले जितेका थिए भने पाँचौं पुरुष बिच भलिबलमा एपीएफकै महेन्द्र श्रेष्ठ र शुरेश चौधरी च्याम्पियन बनेका थिए।