PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

कांग्रेस सभापतिको समाचारमा खण्डन : कहाँको तस्विर कहाँ जोडेर समाचार बनाउने?



पहिलोपोस्ट

कांग्रेस सभापतिको समाचारमा खण्डन : कहाँको तस्विर कहाँ जोडेर समाचार बनाउने?

काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भारतको गोवामा भएको कार्यक्रममा दलाई लामाका प्रतिनिधिसँगै स्टेजमा बसेको भन्दै छापिएको फोटो प्राकृतिक नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ति जारी गरेको छ। देउवाका तर्फबाट कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेका हुन्।
 
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री माननीय शेरबहादुर देउवा इन्डिया फाउण्डेसनद्वारा भारतमा आयोजित डेमोक्रेसी डिभलपमेन्ट एण्ड डिसेन्ट विषयक कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन हालै भारतको गोवा जानुभएको थियो, त्यस कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथिका रुपमा सभापति देउवाले सम्बोधन गर्नु भएको थियो।’

विज्ञप्तिमा उक्त कार्यक्रमा भारतीय जनता पार्टीका अध्यक्ष  अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी बक्ताका रुपमा मञ्चमा भएको बताइएको छ।

कांग्रेसले विज्ञप्तिमा कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै समाचारमा त्यो तथ्यलाई बङ्ग्याइएको आरोप लगाएको छ। ‘यो तथ्यका बाबजुद पनि केही नेपाली सञ्चारमाध्यमले पटक–पटक सभापति श्री देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।

‘दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थियो त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन। त्यसको चियोचर्चो गर्ने विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका बाबजुद कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति श्री देउवा एक चीन नीतिप्रति सम्वेदनशिल नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो।’

विज्ञप्तिमा नेपाली कांग्रेस पार्टी र सभापति देउवालाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु नपर्ने भन्दै एक चीन नीति कांग्रेसको विश्वास भएको दावी गरिएको छ।

‘नेपाली कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ छ। यस्ता भ्रामक र कपोल्कल्पित प्रचार गरी नेपाली कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यूपूर्ण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको नेपाली काँग्रेस घोर भर्तसना र निन्दा गर्दछ। साथै, भविष्यमा सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नका लागि पत्रकार साथीहरुमा नेपाली कांग्रेस अनुरोध गर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell