काठमाडौं : लेखक तथा पत्रकार किशोर नेपालको निबन्ध कृति 'राक्षसको गीत' सार्वजनिक भएको छ।
शुक्रबार राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक/समालोचक अभि सुवेदीले नेपालको कृति लोकार्पण गरे।
पुस्तक र लेखकमाथि बोल्दै सुवेदीले नेपालको लेखनको आफू साक्षी रहँदै आएको बताए। जुनसुकै विधामा पनि उत्तिकै स्पष्ट र लोभलाग्दो गरिकाले निरन्तर लेख्न सक्ने भन्दै उनले प्रशंसा गरे।
यस्तै अर्का वक्ता कवि विप्लव प्रतीकले पहिलेदेखि नेपालको संगतमा रहँदै आएको र हरेक लेखबाट आफू प्रभावित हुने गरेको बताए। पुस्तकमाथि बोल्दै पत्रकार दीपक सापकोटाले नयाँ पुस्ताले नेपालको लेखनबाट धेरै कुरा सिक्नुपर्ने विचार राखे। 'समयको बेथितिमाथि उहाँ मुक्का हान्न सिपालु हुनुहुन्छ,' उनले भने, 'तन्नेरी लेखनले पनि उत्तिकै प्रभावित बनाउँछ।'
आफूले समाजका हरेक विषयलाई स्वच्छन्द तरिकाले पुस्तकमा उतारेको भन्दै लेखक नेपालले भाव, शैली र विचारका हिसाबले निबन्ध स्वच्छन्द हुनुपर्ने धारणा राखे।
बिएन पुस्तक संसारले प्रकाशन गरेको कृतिमा ३३ निबन्ध संगृहीत छन्।
पढ्नुस्, पुस्तकभित्रको निबन्ध : प्रक्रियामा