
विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ।
सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुलित सुधार भने हुन नसकेको राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार बताएका छन्।
'लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ।' राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकले भने।
'दादुरालाई इतिहास बनाउन असंभव छैन,' युनिसेफका खोप प्रमुख रोबिन नन्दीले भने, 'संभव बनाउनका लागि हामीसँग ज्ञान र उपाय हामीसँग छ। जति टाढा भएपनि बालबालिकाहरुसम्म पुग्नका लागि हामीसँग राजनीतिक इच्छाशक्तिको खाँचो छ। राजनीतिक इच्छाशक्ति विना बालबालिका यसैगरी मरिनै रहने छन्।'
दादुरा विरुद्धको विश्वव्यापी अभियानलाई अझै क्षेत्रविस्तार गर्न युनिसेफ, डब्लुएचओ, गाभी, खोप सञ्जाल र रोग नियन्त्रण तथा निवारण केन्द्र क्रियाशिल रहेका छन्। तर प्रयासहरु अझै पनि अपर्याप्त भएका छन्।
सन् २०१५मा झण्डै १ लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ।
'यही रोगका कारण बर्षेनी लाखौ बालबालिकाको मृत्यु हुने कुरा स्विकार्नै नसकिने विषय हो। उनीहरुलाई बचाउने प्रभावकारी र सुरक्षित खोप हामीसँग छ र हामी उनीहरुलाई बचाऔं,' स्वास्थ्य सङ्गठनको खोप तथा जैविक विभागका निर्देशक जोन मरिक ओक्योबेलेले भने।
उनले थपे, 'यही बर्ष अमेरिकी क्षेत्रमा दादुरामुक्त क्षेत्र घोषणा गरिएको छ, यसले यो सम्भव छ भन्ने पुष्टी गर्दछ। अब हामी बाँकी विश्वमा पनि दादुरामुक्त क्षेत्र बनाउनु पर्दछ। यो अभियान खोपबाट सुरु गर्नुपर्छ।' रासस/सिन्ह्वा