
लण्डनः बेलायतको म्यानचेष्टर सहरमा सोमबार राति आयोजित सङ्गीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाकाविरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् ।
बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतङ्ककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सम्हालिन आह्वान गरेकी छन् ।
उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि जानकारी दिइन्।
चीनका राष्ट्रपति सि जिनपिङले घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्वितियालाई समवेदना सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सिले गहिरो समवेदना व्यक्त गर्नुका साथै मृतकप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गरेका छन् । उनले यस दुखद् घडीमा बेलायत र बेलायती जनताको साथमा आफू रहेको रहेको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतङकबादविरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिएका छन् ।
श्रीलङ्काको विदेश मन्त्रालयका प्रवक्ता महीशिनी कोलोनेले म्यान्चेष्टरमा भएको आक्रमणबाट श्रीलङका दुःखी भएको बताए । उनले अतिकठोर घटनाबाट पीडितप्रति आफ्नो सरकारको सहानुभूति रहेको पनि ट्विटरमा लेखेका छन् ।
त्यसैगरी, सिंगापुरको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा निर्दोष मानिसमाथि भएको अमानवीय हमलाको भ्रत्सर्ना गरिएको छ ।
इजिप्ट सरकारले म्यान्चेष्टरमा भएको आक्रमणलाई आतङ्ककारी आक्रमण भन्दै आक्रमणकारीको कडा आलोचना गरेको छ।
अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रस्तुती गरिरहेका बेला भएको आतङ्कककारी हमलामा परी मृत्यु हुनेहरुको सङ्ख्या २२ पुगेको छ । रासस/एएफपी/सिन्ह्वा