काठमाडौं : पेनाल्टी सुटआउटमा गोलरक्षकलाई नायक बन्ने मौका हुन्छ। रेगुलर टाइममा गोलरक्षकले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडीले गर्ने गोलले खेलको नतिजा निस्कने गर्छ।
तर पेनाल्टीमा टीमको नतिजा कस्तो हुन्छ भन्ने विषयको निर्धारण गोलरक्षकको प्रदर्शन गर्छ।
ठिक त्यस्तै भयो नेपालका गोलरक्षक किरण चेम्जोङलाई पनि। मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा लाओस विरुद्धको निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि किरणलाई पनि उत्कृष्ट प्रर्दन गर्दै नायक हुने अवसर आयो। जहाँ उनले आफूलाई प्रमाणित गरेर देखाइदिए।
लाओसविरुद्ध सुरुमै गोल बेहोरेर पनि उत्कृष्ट कमब्याक गर्दै २-१ को अग्रता समेत बनाएको नेपालले अतिरिक्त समयको पनि अन्त्यतिर गोल बेहोरेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो।
कुचिङस्थित नेगेरी स्टेडियममा भएको पहिलो सेमिफाइनलमा नेपालको जितमा गोलरक्षक किरण चेम्जोङ नायक बने। उनकै दुई उत्कृष्ट बचाउको मद्दतमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा समेत कुनै गोल गर्न नदिई ३-० ले हरायो।
नेपालबाट पेनाल्टी प्रहार गरेका तिनै खेलाडी गोल गरे। लाओसका खेलाडीले प्रहार गरेको सुरुको दुई पेनाल्टी किरण रोके भने अर्को खेलाडीको प्रहार पोस्टबाटै बाहिरियो।
नेपालका लागि पेनाल्टीमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे।
यसअघि निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेका थिए भने ३० मिनेटको अतिरिक्त समयमा पनि १-१ गोल थपेका थिए।
खेलको १८ औं मिनेटमा नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै चाम्थोङले गोल गर्दै लाओसलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही राम्रो अवसर खेर फालेको थियो।
तर दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै नेपालले बराबरी गोल फर्कायो। भरत खवासको पासमा विमल घर्ती मगरले गोल गर्दै १-१ को बराबरीमा ल्याए।
निर्धारित समयको खेल बराबरीमै सकिएपछि ३० मिनेट थप गरियो। १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका थिए। तर ११८ औं मिनेटमा लाओसका चाम्पाथोङले नै गोल गर्दै बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको हो।