काठमाडौं : श्रीलंकामा आगामी महिना आयोजना हुने यु १९ एसिया कपको लागि युवा क्रिकेटर छनोट गर्न 'ट्यालेन्ट हन्ट' कार्यक्रमको आयोजना गरिने भएको छ।
डिसेम्र ८ देखि श्रीलंकामा हुने यु १९ एसिया कपमा नेपाल लगायत टेष्ट खेल्ने चार राष्ट्रसहित कुल ८ राष्ट्रको युवा टोलीले सहभागिता जनाउनेछन्।
आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेसँगै नेपालको सिनियर टोलीको सबै कामकारबाही आइसिसीले नै हेर्दै आएको छ। तर प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा पनि नेपालको क्रिकेट टोली बनेको छैन। जसका कारण नेपालले छनोट प्रतियोगिता पनि गर्न सकेको छैन। त्यसैलाई मध्यनजर गर्दै क्रिकेट संघले ट्यालेन्ट हन्ट मार्फत खेलाडी छान्ने अभियान अघि सारेको छ।
संघको कार्यसञ्चालन अधिकृत छुम्बी लामाको नाममा पैस विज्ञप्ति जारी गरी यस कार्यक्रम सार्वजनिक गरिएको छ।
यस कार्यक्रममा सहभागिता जनाउनका लागि १९९८ सेप्टेम्बर १ अर्थात २०५५ भदौ १६ गतेपछि जन्मेका खेलाडीले मात्र पाउनेछन्।
यस्तै प्रति खेलाडी दर्ता शुल्क २ सय लागनेछ।
ट्यालेन्ट हन्ट कार्यक्रमका लागि विराटनगर, वीरगन्ज, काठमाडौं, जनकपुर, भैरहवा र पोखरा, नेपालगन्ज, धनगढी र बैतडी गरी कुल ६ स्थान तोकिएको छ।
क्षमतावान् खेलाडीहरुको लागि यु १९ एसिया कपमा नेपालले खेल्ने टीममा छनोट हुने र प्रतियोगिता खेल्न यो सुनौलो अवसर समेत हुनेछ।
ट्यालेन्ट हन्टबाट पहिलो चरणमा कुल ४४ खेलाडी छनोट गरिने र नोभेम्वर २४ बाट काठमाडौंमा क्लोज क्याम्पमा राखिनेछ।
यस कार्यक्रम सम्बन्धी सबै कार्य गर्नको लागि राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटा, यु १९ टीमका प्रशिक्षक विनोद दास र टेक्निकल एनालिस्ट रमन शिवाकोटी गरी तीन सदस्यीय समिति समेत बनाइएको छ।