
काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाङ्कन टुङ्गो लगाउन संघीय आयोग मान्य नहुने बताएका छन्। आफूहरूको माग संघीय आयोग नभएको उल्लेख गर्दै यादवले आयोगले गर्ने सीमांकन स्वीकार्य नहुने स्पष्ट पारे।
संघीय समाजवादी नेवा संघले नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यादवले संघीय आयोगले सीमांकनको विषय मिलाउने दलीय प्रस्ताव झुक्याउने षड्यन्त्र भएको टिप्पणी गरे।
पूर्व र पश्चिमका पाँच जिल्लालाई विवादित जिल्ला मानी त्यसलाई टुंग्याउने जिम्मा संघीय आयोगलाई दिने तयारी प्रमुख दलहरूले गरिरहेको भन्दै उनले त्यस्तो प्रस्ताव कदापि मान्य नहुने बताए। आयोग बनाएर संघीयता टार्न खोजिएको भन्दै उनले संघीयताको सवालमा उधारो सम्झौता स्वीकार्य नभएको बताए।
राष्ट्रिय समस्या सम्बोधन गर्ने गरी संविधान संशोधन गरिनुपर्ने भन्दै उनले सरकारले संविधान संशोधनको नाममा नाटक गर्न खोजेको उनको आरोप थियो।
अध्यक्ष यादवले सत्तारुढ दलहरूलाई ‘ब्वाँसो’को संज्ञा दिँदै ठूला दलले संघीयतालाई खोजी बस्तु बनाउन खोजेको बताए। उनीहरू राष्ट्रिय मुद्दा सम्बोधन नगर्नेगरी चलाखीपूर्ण संविधान संशोधनमा लागेको जिकिर गरे। साथै त्यसविरुद्ध मधेसमा आन्दोलन गर्ने चेतावनी समेत दिए।
संविधानमा भाषिक समानताको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उनले सरकारका भाषा आयोग गठन लगायत लटरपटर कुरा आफुहरूलाई स्वीकार्य नहुने बताए। 'नेपाली नागरिक र उनका सन्तान नागरिकताबाट बन्चित हुन हुँदैन,' अध्यक्ष यादवले भने, 'स्पष्ट रुपमा माग सम्बोधन गर्ने गरी संविधान संशोधन गरिनुपर्छ।'
आफूहरूले उठाएको माग सम्बोधन गर्ने गरी छलफलमा बसेर सहमतिको आधारमा संविधान संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने उनको भनाइ थियो।