
काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्ने भएको छ।
शनिबार अबेर सम्पन्न दोस्रो सेमिफाइनलमा ब्रुनाईलाई पराजित गर्दै मकाउले नेपालसँगको फाइनल भिडन्त पक्का गरेको हो।
मकाउले ब्रुनाईलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गरेको हो।
निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णाय पेनाल्टीसुटआउटबाट भएको हो।
यसअघि पहिलो सेमिफाइनलमा नेपालले पनि लाओसलाई पेनाल्टी सुटआउटमै ३-० ले पराजित गरेको थियो। नेपालको जितमा नायक बनेको गोलरक्षक किरण चेम्जोङले लाओसका दुई खेलाडीको पेनाल्टी प्रहार रोकेका थिए।
नेपाल र मकाउ अपराजित रहँदै फाइनल पुगेको हो। नेपाल समूह ए को विजेता तथा मकाउ समूह बी को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो।
फिफा वरीयतामा मका भन्दा अघि रहेको नेपाल १८६ औं स्थानमा छ। मकाउ १९६ औं स्थानमा छ।
नेपाल र मकाउबीचको फाइनल खेल मंगलबार मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे हुनेछ।
यस्तै सोमबार ब्रुनाई र लाओसबीच तेस्रो स्थानको लागि सारावक स्टेडियममै खेल हुनेछ।