PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'विप्लव'को बन्दमा १५० कार्यकर्ता पक्राउ, साँझ ५ बजेपछि बन्द खुल्ने



सविन ढकाल

'विप्लव'को बन्दमा १५० कार्यकर्ता पक्राउ, साँझ ५ बजेपछि बन्द खुल्ने

काठमाडौं : महँगी, कालोबजारी र खाद्य सम्प्रभुताको रक्षाका लागि भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका क्रममा अहिलेसम्म देशभरबाट १५० कार्यकर्ता पक्राउ परेका छन्।
 
बिहानैदेखि राजधानीमा विरोध प्रदर्शनमा उत्रिएका माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। काठमाडौंबाट १ सय २९ जना कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले बताए। बन्दकर्ताले राजधानीमा कुनै पनि सवारी साधनमा तोडफोडको घटना गर्न नपाएको उनले दाबी गरे। चोकचोकमा प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था समेत कडा पारिएको उनले बताएका छन्। 
 
काठमाडौंबाहिरबाट पनि आफ्ना कार्यकर्ता पक्राउ परेको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए। शान्तिपूर्ण नेपाल बन्दमा प्रहरीले आफ्ना कार्यकर्तालाई धरपकड गरेको भन्दै उनले चाँडै रिहा गरिनुपर्ने बताए। उनले कुनै हिंसात्मक घटना नगरेको दाबी गरे पनि दोलखा, सिन्धुली लगायतका ठाउँमा गाडीमाथि आगजनी गरिएको छ। केही ठाउँमा तोडफोडका घटना पनि भएका छन्।

बन्द साँझ ५ बजेदेखि खुल्ने प्रवक्ता विश्वकर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell