PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

पश्चिमाञ्चल फाइनान्सका तत्कालीन प्रबन्धक पौडेल पक्राउ, भल्टबाटै साढे दुई करोड झिकेको फेला



पहिलोपोस्ट

काठमाडौं : पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ।
 
शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोमा आइतबार सार्वजनिक गरिएको हो।
 
पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको रकम रु एक करोड ३८ लाख ५० हजार भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
 
संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी रु दुई करोड ५३ लाख लगेकोमा सो समेत बैंकमा जम्मा नगरी निजैले अपचलन गरेको समेत खुल्नमा आएको छ।
 
संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी रु एक करोड पाँच लाख कर्जा प्रवाह गरेको देखाई स्वयम्ले उक्त रकमसमेत उपभोग गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए।
 
पौडेलले शाखा प्रमुखको हैसियतले संस्थाबाट विभिन्न सातजना ऋणीलाई लगानी गरेका रु ३७ लाख ४१ हजार १८५ कर्जा चुक्ता हुनुअगावै धितो फुकुवा गरी कर्जा जोखिममा पारी संस्थालाई हानिनोक्सानी गरेको समेत उल्लेख छ।
 
पौडेलले संस्थालाई कुल रु पाँच करोड ३३ लाख ९१ हजार १८५ हानिनोक्सानी गरेको लगायतका अभियोगमा निजलाई पक्राउ गरिएको हो। निजउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell