PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​विश्वकप छनोट : स्वीट्जरल्याण्ड र बेल्जियमको शतप्रतिशत जित, पोर्चुगलको जितमा रोनाल्डोको २ गोल



पहिलोपोस्ट

​विश्वकप छनोट : स्वीट्जरल्याण्ड र बेल्जियमको शतप्रतिशत जित, पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा स्वीट्जरल्याण्ड र बेल्जियमले शतप्रतिशत जित निकालेका छन्।

समूह बीको छनोट खेलमा स्वीट्जरल्याण्डले फारा आइल्याण्डलाई २-० ले हरायो। स्वीस टोलीको जितमा एरेन डेर्डियोक र स्टेफन लिचस्टाइनरले १/१ गोल गरे।

जितपछि ४ खेलबाट स्वीट्जरल्याण्डले १२ अंक जोडेको छ भने समूह बीको शीर्ष स्थानमा छ।

यसै समूहको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि पोर्चुगलले लात्भियालाई ४-१ ले पराजित गरेको छ। रोनाल्डोले एक गोल पेनाल्टीमा गरेका थिए। रोनाल्डोले अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन्। यस्तै पोर्चुगलको जितमा विलियम कार्भाल्हो र ब्रुनो अल्भ्सले पनि १/१ गोल गरे। जितपछि पोर्चुगल ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा छ।

अर्को खेलमा हंगेरीले एण्डोरालाई ४-० ले हरायो। हंगेरीको शानदार जितमा जेल्टन गेरा, एडम लाङ, एडा जुर्सो र एडम स्जलाईले १/१ गोल गरे। जितसँगै ४ खेलबाट ७ अंक जोडेको हंगेरी तेस्रो स्थानमा छ।

इस्टोनिया विरुद्ध बेल्जियममको ८ गोल
समूह एचको खेलमा बेल्जियमले इस्टोनियालाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

बेल्जियमको शानदार जितमा ड्राइ मर्टेन्स र रोमोलु लुकाकुले ले समान २ गोल गरे भने एडेन हाजार्ड, यानिक कारास्को र थोमस मुनिएरले १/१ गोल गरे। इस्टोनियाका रागनार क्लाभानले एक आत्मघाती गोल गरे। इस्टोनियाका लागि हेनरी अनियरले सान्त्वना गोल फर्काए।

शतप्रतिशत जितसँगै बेल्जियम ४ खेलबाट १२ जोड्दै समूह एचको शीर्ष स्थानमा छ।

बेल्जियमलाई पछ्याइरहेको ग्रीस भने बोस्निया एण्ड हर्जगोभिनासँग १-१ गोलको बराबरीमा रोकियो।

बोस्नियाका ओरेस्टिस कार्नेजिसका आत्मघाती गोलमार्फत ग्रीसले पहिले अग्रता लिए पनि खेलको अन्त्यतिर बोस्नियाका गिर्गो जाभालेसले बराबरी गोल गर्दै ग्रीस्सँग अंक खोसेका थिए। 

खेलमा दुवै टोलीका १/१ खेलाडीले रातो कार्ड पाएका थिए।

बराबरीपछि अपराजित रहेको ग्रीस ४ खेलबाट १० अंक भएको छ र दोस्रो स्थानमा छ। ७ अंक जोडेको बोस्निया तेस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा साइप्रसले पहिलो जित हात पार्ने क्रममा जिब्राल्टरलाई ३-१ ले हरायो।

यता समूह एको खेलमा नेदरल्याण्ड्सले लक्जेमवर्गलाई ३-१ ले पराजित गरेको छ। छनोटमा नेदरल्याण्ड्लाई दोस्रो जित दिलाउन मेमफिस डिपेले २ तथा आर्जेन रोवनले १ गोल गरे। 

जितपछि ४ खेलबाट ७ अंक जोडेको नेदरल्याण्ड्स स्वीडेनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ। समान ७ अंक नै रहेको स्वीडेन गोल भिडन्तामा तेस्रोमा झरेको छ। अपराजित रहँदै १० अंक जोडेको फ्रान्स समूह एको शीर्ष स्थानमा छ।

यस्तै समूह एकै अर्को खेलमा बुल्गेरियाले बेलारुसलाई १-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell