फलेवास (पर्वत) : पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्षअघिदेखि अलपत्र परेको छ। निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ।
भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन्।
अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुनसक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताए। शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण सुरु भएको छ कोठे पक्की भवन चार वर्षअघिदेखि अलपत्र बनेको हो।
तत्कालीन प्रद्यानाध्यापक खेमराज लम्सालको पालामा निर्माण थालिए पनि बजेट अभाव देखाउँदै ठेकेदारले बीचैमा काम रोकेपछि भवन बेवारिसे बन्न पुगेको आचार्यले बताए। भवनको निर्माण सुरु गरिएको समयदेखिको आयव्ययको अभिलेख समेत विद्यालयमा राखिएको छैन।
उता भवन निर्माण समितिले भने अनुमानित बजेट नभएपछि काम रोकिएको जनाएको छ। तत्कालीन अवस्थामा रु एक करोड १८ लाखको लागत स्टिमेट भए पनि रु २७ लाख मात्र आएकाले बजेट बिना काम सञ्चालन गर्न नसकिएको समितिको जिकिर छ।
भवनका लागि विद्यालयले थप रु पाँच लाख खर्च गरेर ढलानको काम समेत गरेको थियो। जिल्लाका तीन वटै सांसदले भवनको पुनःनिर्माणमा सघाउने बताए पनि हालसम्म सहयोग प्राप्त नहुँदा स्थानीयवासी चिन्तित बनेका छन्। विद्यालयकै स्रोत साधनमा केही वर्षदेखि मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्यापन पनि सञ्चालनमा ल्याइएको छ। त्यसैले, समयमै भवन निर्माण सम्पन्न नहुँदा सबै तहका विद्यार्थीलाई असहज बनाएको विद्यालयको भनाइ छ।रासस