PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख आर्थिक सहयोग



पहिलोपोस्ट

बेनी (म्याग्दी) : महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ।
 
काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अभियन्ता पुनलाई रकम हस्तान्तरण गरे।
 
साधारणसभामा पुनले प्रतिभाशाली सन्ततिको प्रतिभाको पालनपोषण गर्नका लागि केन्द्रको स्थापनामा लागेको बताए। विदेशिएका हजारौँ प्रतिभाशाली सन्ततिलाई स्वदेशमा नै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ थियो।
 
विद्युत् उत्पादनका लागि तत्काल रु ५० करोड सङ्कलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरू गर्ने बताउँदै उनले त्यसले दिएको आम्दानीसँगै अन्य स्रोत समेत जुटाउने उल्लेख गरे।
 
सन् २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्षअगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा गर्नुभएको छ।
 
यसैबीच सहकारीका पदाधिकारी, कार्यसमिति सदस्यले अभियानमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। म्याग्दीबाट काठमाडौँमा रहेका म्याग्देलीले सञ्चालन गरेको सहकारीमा बेनी नगरपालिका र ३५ गाविसबाट प्रतिनिधित्व रहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell