PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

सुजातालाई ५० लाख दिने निर्णयप्रति एमालेको विरोध, सांसदले सोधे- 'कहाँ छन् स्वास्थ्य मन्त्री?'



मनोज सत्याल

सुजातालाई ५० लाख दिने निर्णयप्रति एमालेको विरोध, सांसदले सोधे- 'कहाँ छन् स्वास्थ्य मन्त्री?'

काठमाडौँ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि मन्त्रिपरिषद्बाट ५० लाख दिने निर्णयको नेकपा एमालेले विरोध गरेको छ।

आजको संसद बैठकको विशेष समयमा एमालेका सांसद प्रकाश ज्वाला र यज्ञराज सुनुवारले शून्य समयमा विरोध जनाएका हुन्। सांसद ज्वालाले सरकारले ५० लाख दिन गरेको निर्णय गलत र भर्त्सनायोग्य भएको बताए। सुजाता कोइराला र यसअघि पूर्वराष्ट्रपतिलाई ठूलो धनराशी उपचारका लागि उपलब्ध गराइनु आपत्तिजनक भएको उनको भनाइ थियो।

'भ्रष्टाचारमा कारबाही बेहोरेका खुमबहादुर खड्का जस्तो व्यक्तिलाई समेत दिने गरेको छ। यो राज्य कोषको दुरुपयोग गरिएको हो', उनले भने, 'आजै औषधि नपाएर मानिसहरु मरेको समाचार आएको छ। एक महिलाको रोल्पामा उपचार नपाएर ज्यान जान्छ, अर्को एक महिलाले ५० लाख पाउँछ।'

उनले आफू सभापति रहेको अर्थ समितिबाट पटकपटक उपचार खर्चको व्यवस्था व्यवस्थित गर्न दिइएको सुझाव लत्याइएको बताए। 'नागरिक राहत क्षतिपूर्ती तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि संशोधन गर्न सुझाव दिइका छौँ, तर गरिएको छैन', उनले भने, 'स्वास्थ्य मन्त्रालयको प्रस्ताव र अर्थको सहमतिमा मन्त्रिपरिषद्बाट निर्णय लिन निर्देशन गरेको छ।'

उनले सुजातालाई गृहमन्त्रीले ठाडो प्रस्ताव लगेर निर्णय गराएको र प्रधानमन्त्रीले पनि पहल गरेको सुनिएको भन्दै विरोध जनाए । 'सरकारले छिटोभन्दा छिटो कार्यविधि संशोधन गर्न जरुरी छ', उनले भने, 'सिलिङ तोकिनुपर्छ, लाखौँ, करोडौँ दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।'
 
ज्वालाले सरकारका प्रवक्ताले पत्रकारको जिज्ञासामा समेत रकम दिने निर्णय भएको विषयमा जवाफ नदिएर लुकाउन खोजिएकोमा विरोध जनाए।

सांसद यज्ञराज सुनुवारले पनि आर्थिक सहायता कार्यविधि तत्काल टुङ्ग्याउन आग्रह गरे। उनले पनि उपचारका लागि भन्दै ठूलो धनराशी दिने प्रचलनको विरोध गरे।


राप्रपा नेपालको पनि विरोध 

प्रतिपक्षी दल राप्रपा नेपालका दिलनाथ गिरीले सत्ताका नजिक रहेका दलका प्रभावशाली नेताहरुलाई राज्यको ढुकुटी रित्याउने गरी असमान सहयोग गर्ने प्रवृत्ति दु:खलाग्दो भन्दै आपत्ति जनाएका छन्।

'पूर्वप्रधानमन्त्री तुलसी गिरीलाई बैंगलोरमा उपचार खर्चका लागि आग्रह गर्दा राज्यले वास्ता गरेन। गोविन्दबहादुर श्रेष्ठले आर्थिक अभावले उपचार गर्न सक्नुभएन। उहाँका परिवारजनले सरकारलाई धेरै भन्दा पनि सुनेन', उनले भने, 'सत्ताका नजिक बस्नेहरुले राज्यको कोष ब्रह्मलुट गर्दा नेपाली जनतालाइ पीडा भएको छ।'
 
स्वास्थ्य मन्त्रीको सस्तो लोकप्रियताको विषय उठाए पनि गम्भीर विषयमा मौन रहेको भन्दै आलोचना गरे। 'के भइरहेको छ उहाँ (गगन थापा) नै स्वास्थ्य मन्त्री हुनुहुन्छ', गिरीले भने। 

मन्त्रिपरिषद्को आइतबारको बैठकले स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ कोइरालाको उपचारका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको थियो। उनी हिजै सिङ्गापुरको सेन्ट पिटर्सवर्गमा उपचारका लागि प्रस्थान गरिसकेकी छिन्। सरकारको यो निर्णयप्रति सामाजकि सञ्जाल लगायत चौतर्फी विरोध सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell