काठमाडौं: संस्कृतिविद् सत्यमोहन जोशीले लोपोन्मुख परम्परागत मौलिक चर्या नृत्यसँग नेपालको राष्ट्रिय पृष्ठभूमि पनि जोडिएको बताएका छन्। बज्र कला कुंज नामक संस्थाले आयोजना गर्दै आएको सम्पदा शिविरको समापन कार्यक्रममा बोल्दै जोशीले आफ्नो भनाई राखेका हुन्।
उनका अनुसार नेपालमा वि.सं २०१३ अघि धार्मिक महत्व बोकेको चर्या नृत्य नियम भित्र बाँधिएर प्रशिक्षण र प्रस्तुत गर्न पाइन्थ्यो। भने,'बौद्ध धर्मको पनि विशेष दीक्षा लिनेले मात्र चर्या गीत, संगीत र नाच हेर्न, सिक्न वा प्रस्तुत गर्न पाउँथे।'
२०१३ सालमा पहिलो पटक नेपालमा बौद्ध सम्मेलन भएपछि चर्या विधाका कलाहरु सार्वजनिक रुपमा देखाइएको जोशीको भनाई छ। जोशी भन्छन्,'विदेशी पाहुनालाई केही फरक ढङ्गको कला देखाउनाले चर्या नियम भित्र सीमित भएन।'
२३ वर्ष यता चर्या नृत्य गुरु चन्द्रमान मुनिकारको नेतृत्वमा सम्पदा शिविर संचालन हुँदै आएको छ। उनका अनुसार संस्कृतिक र मौलिक महत्व बोकेको चर्याको गीत, संगीत, नृत्यको प्रवर्द्धननै शिविरको महत्व हो। शिविर समापन कार्यक्रम बीच बोल्दै भने,'लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न र नृत्यमा फरक विधाको उत्थानका लागि यो शिविर महत्वपूर्ण कार्यक्रमका रुपमा खडा भएको छ।'
एक महिना अघिदेखि शिविर संचालन भएको थियो। सो अवधिमा चर्या नृत्य सम्बन्धी विभिन्न प्रशिक्षणहरु भए। काठमाडौं भित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रुपमा प्रचार गर्नुपर्ने जोशीको भनाई छ। भन्छन्,'हाम्रो संस्कार संस्कृतिलाई हामी भित्र मात्र राख्न हुँदैन।'
कार्यक्रम बिच चर्या नृत्य प्रशिक्षकहरुलाई सम्मानपत्र र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। विभिन्न सांस्कृतिक नृत्य र गीत संगीत प्रस्तुत गरिएको कार्यक्रम राष्ट्रिय नाचघरमा भएको हो।