
काठमाडौं : विद्धयमान नेपाली क्रिकेटको विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टोली फेरि नेपाल आइपुगेको छ।
दुई महिना अघि आइसीसीका प्रमुख कार्यकारी अधिकृत सिइओ डेविड रिचर्डसनसहितको टोली पनि नेपालको क्रिकेट विवाद मिलाउन नेपाल आएको थियो।
उनीहरुले सल्लाहाकार समिती बनाउने निर्णय गर्दै फर्केका थिए। त्यतीबेलै सल्लाहाकार समिती गठन गर्ने तयारीमा आएपनि निर्वाचित भनिएको नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर सिंह लगायतको टोलीको विरोधमा आइसीसीले सल्लाहाकार समिती गठन गर्न सकेन।
त्यसको एक महिनापछि आइसीसीले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौेडलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहाकार समिती गठन गर्यो।
उक्त समितीमा पौडेलसहित, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्व कप्तान पवन अग्रवाल, पूर्व कार्यवाहक अध्यक्ष दिपक कोइराला र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टका प्रेस सल्लाहाकार रोहति दाहालको नाम प्रस्ताव गरिएको थियो।
उक्त सल्लाहाकार बनाउने प्रस्तावमा समेत विरोध भएपछि प्रस्ताव गरिएका समितीकै संयोजकले आइसीसीलाई विवाद मिलाउन भनेका थिए। त्यसै अनुरुप आइसीसीका अकाउण्ट हेड आमिर शेखको नेतृत्वमा ६ सदस्यी टोली नेपाल आएको हो।
शेख नेतृत्वको टोलीसँग मंगलबार बिहानै बैठन बस्ने तयारी रहेको छ।
दुई महिनाअघि नेपाल आएको रिचर्डसनको टोलीसँग पनि शेख आएका थिए।